
काठमाडौं । निजामती कर्मचारी अस्पतालमा नर्सहरूले पनि आन्दोलन सुरू गरेका छन् ।
शुक्रबार काठमाडौंको मीनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरूले उचित पारिश्रमिक दिनुपर्ने लगायतका नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । न्युनतम सेवा र सुविधाबाट वञ्चित नगर्न माग गर्दै सो संघले जारी राखेको आन्दोलनमा आफूहरूले पनि धर्नामार्फत ऐक्यबद्धता जनाएको बताएका छन् ।
उनीहरूले योग्यता र अनुभवको आधारमा आफूहरूलाई सेवा दिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । आन्दोलनरत एक नर्सले भन्नुभयो, ‘चौबिसै घण्टा सेवा दिने हामीहरू आवश्यक सेवा लिनबाट वञ्चित छौं । र, जुन माग नेपाल नर्सिङ संघले मागेको छ नेपाल सरकारसँग । सबैलाई आवश्यक सेवा सुविधा हुनुपर्छ भनेर । त्यही मागलाई हामीले पनि धर्नामार्फत साथ दिएका हौँ ।’
बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरूले श्रमको उचित मूल्यांकन गर, योग्यता र अनुभवकोअनुसार पारिश्रमिक कायम गर, जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर भन्ने प्लेकार्डसहित धर्नामा बसेका थिए । नेपाल नर्सिङ संघको आह्वानमा देशभर नर्सहरूले आफूहरूको न्युनतम सेवा, सुविधाको तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राखि देशभर विरोध प्रदर्शन गर्दै आएका छन् ।