काठमाडौं । अस्पतालमा नर्सको खटाइ तथा व्यस्तता देखेर उपचारका लागि गएका जो कोहीलाई पनि लाग्ला- उनीहरूले आकर्षक पारिश्रमिक पाउलान् ।
तर, निजी स्वास्थ्य संस्थाका नर्सहरू सरकारले तोकेकोभन्दा निकै कम पारिश्रमकमा काम गर्न बाध्य छन् । जसका कारण अहिले देशका विभिन्न निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजहरूका नर्सहरू न्यूनतम पारिश्रमिक माग गर्दै आन्दोलनमा छ्न् ।
नर्सहरू निकै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको गुनासोपछि स्वास्थ्य मन्त्रालयले २०७९ मै देशभरका निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजहरूलाई सरकारीसरह तलब सुविधा दिन निर्देशन दिएको थियो । तर अधिकांशले कार्यान्वयन नगरेपछि नर्सहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारीसरहको पारिश्रमिक तथा सेवा सुविधा जसरी पाउनुपर्ने उनीहरूको माग छ ।
स्वास्थ्य मन्त्रालयले सरकारीसरह तलब सुविधा दिन निर्देशन दिए पनि अधिकांश निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजहरूले पालना गरेनन् र सरकारका तर्फबाट पनि अनुगमन भएन । नेपाल नर्सिङ्ग संघका अनुसार सरकारले न्यूनतम ३४ हजार ७ सय ३० रूपैयाँ पारिश्रमिक तोकेको छ । तर निजी स्वास्थ्य संस्थामा नर्सहरूले १० देखि १५ हजारको स्केलमा काम गर्न बाध्य छन् ।
कतिले त त्यति पनि पाएका छैनन् । सरकारले यो समस्या हल नगरेमा आफूहरू चरणबद्ध आन्दोलनमा जाने संघको चेतावनी छ । हाल देशभर ८६ हजारभन्दा बढी नर्सहरू नर्सिङ काउन्सिलमा दर्ता छन् । स्वास्थ्य सेवाका महत्वपूर्ण मानिने यस्ता जनशक्तिको सेवा सुविधामा सरकारले ध्यान दिन नसक्दा विदेश पलायन हुने क्रम पनि बढिरहेको छ ।