कर्मचारीलाई नवनियुक्त स्वास्थ्यमन्त्रीको चेतावनी- ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’

कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्मचारीलाई नवनियुक्त स्वास्थ्यमन्त्रीको चेतावनी- ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिनुभएको हो । मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उहाँले चेतावनी दिनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरूबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिनुभयो । 

उहाँले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘कुनैपनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रुपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रूपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौति थियो । प्रशासनिक रूपमा जति गर्नुपथ्र्यो गरेँ । तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्याण्डल गर्न सक्दैन नि । त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरेँ ।’

पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी उहाँले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सल्लाहकार समेत रहनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.