सल्यानमा स्क्रब टाईफसका बिरामी बढदै, १ जनाको मृत्यु

आश्विन २७, २०८२ |सरिता चलाउने
सल्यानमा स्क्रब टाईफसका बिरामी बढदै, १ जनाको मृत्यु

सल्यान । सल्यानमा स्क्रब टाईफसका कारण एक जनाको मृत्यु भएको छ । 

स्क्रब टाईफसका कारण जिल्लाको बाग्चौर नगरपालिका-१ कालाखेतका गजेन्द्र केसीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताउनु भयो । उहाँकाअनुसार बाग्चौर नगरपालिका-१ कालाखेतका गजेन्द्र केसीलाई सुरूमा जिउ दुख्नुका साथै ज्वरो आएको र उच्च ज्वरो आएपछि बाग्चौरस्थित एक मेडिकलमा केही दिन उपचार गराउनु भएको थियो । 

औषधि सेवनपछि पनि उच्च ज्वरो नरोकिएको र स्वासप्रस्वासमा थप समस्या भएपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि आफन्तले ल्याएका थिए । लक्षणअनुसार तत्काल स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाईफस देखिएको थियो ।

जिल्ला अस्पताल सल्यान ल्याएको आधा घन्टा नबित्दै उनको स्वास्थ्यमा बढी समस्या देखिएपछि नेपालगन्ज रेफर गरिएको र उपचारको क्रममै केसीको मृत्यु भएको प्रमुख डा. बुढाले बताउनु भयो । उहाँकाअनुसार पछिल्लाे समयमा सल्यानमा स्क्रब टाईफसका बिरामी बढीरहेका छन् । 

समयमै रोग पहिचान गर्न नसक्दा उपचारमा भएको ढिलाइका कारण एक जनाको अकालमा ज्यान गुमाउनु परेको उहाँले बताउनु भयो । कार्यालयको तथ्यांकअनुसार तीन महिनाको अवधिमा जिल्लामा ७० जनाले जिल्ला अस्पताल सल्यानमा उपचार गराई ठिक भएर घर फर्किएकाे उहाँको भनाइ छ ।

पछिल्लाे समयमा सल्यानमा स्क्रब टाईफसको जोखिम बढ्दै गएको र रोग पहिचान गर्न नसकी ज्वरोको जथाभावी औषधि सेवन गर्दा बिरामीको ज्यान जोखिममा पर्दै आएको छ । लगातार केही दिनदेखि उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या देखिएमा जिल्ला अस्पताल सल्यान आएर रगत परीक्षणका साथै उपचार गर्न उहाँले जिल्लाबासीलाई आग्रह गर्नुभएकाे छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।