आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

भाद्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं । जेन-जी प्रदर्शनमा देशका कैयौँ सर्वोच्च कार्यालयहरू प्रदर्शनकारीको आगलागीबाट ध्वस्त हुने पुगे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि जोगिन सकेन । पूर्ण रूपमा जलेर सबैभन्दा बढी क्षति पुग्ने मन्त्रालयमा स्वास्थ्य मन्त्रालय पनि पर्दछ ।

स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एक टेकुस्थित स्वास्थ्य सेवा विभाग भने हमला हुनबाट जोगिन पुग्यो । कार्यालयका नियमित काम आइतबारदेखि सुरू भइसकेका छन् ।

विभागका महानिर्देशक डा. टङ्कप्रसाद बाराकोटीले प्रदर्शनमा विभाग भने जोगिन सफल रहेको बताउनुभयो । यद्यपि स्वास्थ्य मन्त्रालयमा राखिएको विभागको एउटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ । 

विभागभित्र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रलगायत रहेका छन् । 

उपचारात्मक सेवा महाशाखा, व्यवस्थापन महाशाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परिवार कल्याण महाशाखा रहेका छन् ।

विभागमा क्षति नपुगे पनि ३० वटा नगरपालिकामा रहेको स्वास्थ्य शाखामा भने क्षति पुगेको डा. बाराकोटीले जानकारी गराउनुभयो । “हालसम्मको सङ्कलित विवरणअनुसार कुनै पूर्ण रूपमा क्षति पुगेका छन् कुनै आंशिक रूपमा क्षति पुगेका छन् । थप क्षतिको विवरण सङ्कलन गर्दैछौँ । त्यहाँ रहेका खोपका फ्रिजहरूमा क्षति पुगेको छ,” उहाँले भन्नुभयो ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका र स्वास्थ्य संरचनामा हालैको घटनाबाट उल्लेखनीय क्षति पुगेको छ । स्वास्थ्य संस्था, खोप भण्डारण केन्द्रमा कतै पूर्ण र कतै आंशिक क्षति भएका छन् । पुनःस्थापना तथा मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार हालसम्म १९ वटा खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको छ र यो सङ्ख्या बढी हुन सक्ने र क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालय जलाउँदा सँगैको स्वास्थ्य संस्था पनि परेका रहेछन् । खोप भण्डारण कक्षमा क्षति पुगेको छ । खोप कार्यक्रममा प्रभाव परेको छैन । सेवा दिन प्रयासरत छौँ । कामलाई निरन्तरता दिइरहेका छौँ ।”-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.