काठमाडौं । राम्रो देखिनका लागि मेकअपसँगै पछिल्लो समय कस्मेटिक सर्जरी गर्नेहरुको संख्या बढ्दै गएको छ ।
अझ सोसियल मिडियामा फोटो र भिडियो राख्ने ट्रेन्ड बढेसँगै अनुहार र छालामा कुनै रोग नभएकाहरु समेत चिकित्सककोमा पुग्ने गरेका छन् । पछिल्लो समय नेपालमा छाला तथा सौन्दर्यसम्वन्धी दक्ष जनशक्ति तथा प्रविधि उपलब्ध भएसँगै अनुहार, छाला, कपाललगायतका सौन्दर्यसम्बन्धी सेवाहरु सहज भएको छ ।
फेसबुक, इस्ट्राग्राम, टिकटकलगायत सामाजिक सञ्जालमा फोटो वा भिडियो पोष्ट गर्दा आफुलाई राम्रो देखाउने प्रयास जो कोहिले पनि गर्ने गर्छ । तपाइले पनि पक्कै गर्नुभएको होला । लाइक र भ्यूज बढाउनका लागि चिटिक्क परेको वा राम्रो देखिएको फोटो- भिडियो मात्र हामी अप्लोड गर्छौं । कतिले त फिल्टरको समेत प्रयोग गर्छन ।
हिजोआज रोग नलागे पनि कपाल तथा छालाको सौन्दर्यका लागि कतिपय मानिस चिकित्सककोमा धाउने गरेका छन् । निरोगी अवस्थामै रूपरंग निखार्नका लागि चिकत्सककोमा पुग्नै सँग-सँगै रोग लागेर वा समस्या भएर जानेहरू झन बढी छन् ।
छालामा केहि समस्या छ वा कपाल झरेको छ वा दाग लगायत केही जन्मजातै समस्या छ भने नेपालमै विश्व स्तरिय उपचार हुने गरेको छ । केही वर्ष अघिसम्म नेपालमा राम्रो उपचार थिएन, तर पछिल्लो समय दक्ष जनशक्ति तथा प्रविधिको विकास भएसँगै यी समस्याको सहज समाधान हुन थालेका छन् । समस्या पहिचान गरेर औषधिहरुको प्रयोगदेखि इन्जेक्टेवल, लेजर लगायतको प्रयोग गरेर उपचार गरिन्छ ।
चिकित्सकहरुका अनुसार साधारण औषधिका लागि एक सयदेखि केही हजार रूपैयाँसम्म लाग्न सक्छ । छालाका दाग, ट्याटु, कोठीलगायत हटाउन प्रयोग गरिने लेजरका लागि प्रतिसेसन ३ देखि ८ हजार लाग्न सक्छ ।
यसैगरी उमेर अनुसार देखिने दाग, डन्डिफोरलगायत हटाएर अनुहारमा चमक ल्याउन गरिने पिलिङका लागि प्रति सेसन ३ देखि ६ हजार लाग्न सक्छ। अनुहारमा तुरुन्तै चमक ल्याउन गरिने हाइड्राफेसियलका लागि पनि ३ देखि ६ हजार लाग्नसक्छ भने कपाल प्रत्यारोपणका लागि एरियाअनुसार ३० हजारदेखि ३ लाखसम्म लाग्न सक्छ । अर्थात् समस्या हेरेर मूल्य निर्धारण हुन्छ ।
तर कतिपयले राम्रो देखिन भन्दै आफूखुसी इन्टरनेटमा हेरेर उपचार गर्ने तथा व्युटीपार्लर तथा व्युटिसीयनसँग सल्लाह लिएर बस्नेहरुमा भने धेरै नै समस्या देखिने गरेको छ ।
व्युटिसियनहरुले मेक अप राम्रो गर्ने भएपनि कसलाई कस्तो प्रशाधन प्रयोग गर्दा के असर गर्छ भन्ने थाहा नहुँदा दिर्घकालिन समस्या समेत निम्तिने गरेको छ । यसकारण सामान्य अवस्थामा व्युटिसियनको सेवा लिएपनि समस्या देखिने वित्तिकै चिकित्सककोमा जानु नै उत्तम हुन्छ ।
शारिरिक सुगठन सँगै स्लिम र फिट देखिन र अनुहार, कपाल तथा छालाको फेयरनेसका लागि चिकित्सकको सल्लाह एकदमै आवश्यक छ । अनि मात्र फोटो र भिडियोमा हामी राम्रा देखिन्छौ र हामीले सामाजिक सञ्जालमा अपलोड गरेका फोटो भिडियोमा लाइक भ्युज तथा राम्रा राम्रा कमेन्ट आउँछन् ।