धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बीमामा आबद्ध नागरिकले तिर्दै आएको शुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।
गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा आकर्षित गर्न बीमकले तिर्दै आएको रकममा ५० प्रतिशत अनुदान गाउँपालिकाले उपलब्ध गराउने व्यवस्था गरेको हो।
अहिले एक वर्षे स्वास्थ्य बीमाका लागि ५ जनाको परिवारले न्यूनतम तीन हजार पाँच सय रुपैयाँ सुरुमा बुझाउनुपर्छ। छथर जोरपाटी गाउँपालिकाले उक्त रकमको आधा अर्थात एक हजार सात सय ५० रूपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको हो।
गत आर्थिक वर्षमा गाउँपालिकाले बीमाबापत १८ लाख रूपैयाँ अनुदान उपलब्ध गराएको थियो। चालु आर्थिक वर्षका लागि १७ लाख रूपैयाँ विनियोजन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताउनुभयो।
१७ हजार जनसंख्या रहेको छथर जोरपाटी गाउँपालिकामा ६ हजार ७ सय २९ जना मात्रै स्वास्थ्य बीमामा आबद्ध भएका छन्।