नेपालमा ३० वर्षमाथिका विवाहित जोडीमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता

कर्णालीका पुरुष र मधेशका महिलामा सबैभन्दा बढी यौन दुर्बलता
८४ प्रतिशत पुरुष यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन्
असार २, २०८२ |न्युज एजेन्सी नेपाल
नेपालमा ३० वर्षमाथिका विवाहित जोडीमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता

काठमाडौं । सोमबार काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्षभन्दा माथिका विवाहित जोडीहरूमा यौन दुर्बलता रहेको देखाएको छ । त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसको संख्या बढी रहेको छ । 

नेपालमा ३० वर्षमाथिका विवाहित जोडीमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशत महिलाहरूमा यो समस्या दखिन्छ । 

अनुसन्धानकर्ता डा. खेम कार्कीका अनुसार कुल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्प्रोमाइज गर्ने (यौन इच्छा दबाउने) को संख्या ९२ प्रतिशत छ ।  महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको उहाँले बताउनुभयो । ८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वस्तरमा यौन दुर्बलताको स्थिति हेर्दा झन्डै झन्डै आधा जनसंख्या ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलामा यौन दुर्बलता भएको देखिन्छ । एशियन देशहरूमा अरू क्षेत्रको भन्दा अझ बढी छ । मलेसियामा ६९, सिंगापुरमा ७३ प्रतिशत, हङकङमा ६४ प्रतिशतसम्म छ । सिंगापुरमा महिलामा ५६ प्रतिशत देखिएको छ । नेपालमा हामीले क्लिनिकल हस्पिटल स्टडिजहरू गर्दा ७३.७ प्रतिशतसम्मको यौन दुर्बलता रहेको पाएका छौं । क्लिनिकल हस्पिटल स्टडिजहरू हेर्दा जनसंख्या बेसमा यसको स्थिति के छ भनेर यो स्टडी गरेका हौं ।”

मधेशका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता

कार्कीका अनुसार प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा पाइएको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेश प्रदेशमा रहेको छ । कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै मधेश प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । 

बागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ ।

अध्ययन अनुसार हिमाली क्षेत्रका पुरुषहरूमा बढी यौन दुर्बलता रहेको छ । हिमाल र पहाड क्षेत्रका महिलाहरूमा करिब उस्तै उस्तै यौन दुर्बलता रहेको पाइए पनि तराईका महिलाहरूमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ ।


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।