बाढीले बगाएको रोशी अस्पतालको अस्थायी भवन हस्तान्तरण, सेवा पुनः सुरू

जेष्ठ १५, २०८२ |पुजन धिताल
बाढीले बगाएको रोशी अस्पतालको अस्थायी भवन हस्तान्तरण, सेवा पुनः सुरू

काभ्रे । असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको रोशी खोलाको बाढीले रोशी-१ फलामेसाँघुमा निर्माण अन्तिम चरणमा पुगेको १० शैयाको रोशी आधारभूत अस्पताल भवन बगाएको थियो। 

त्यसपछि टेन्टमा अस्थायी रूपमा सेवा दिइँदै आएकोमा अहिले विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्मित अर्धपक्की संरचना रोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीले भवन मात्र होइन, जनधनमा पनि ठूलो क्षति पुर्याएको भन्दै वर्तमान अस्थायी संरचना प्राप्त भएपछि स्वास्थ्य सेवा सहज हुने विश्वास व्यक्त गर्दै सहयोगी सस्था र सहभागी सबै प्रतिनिधि र पाहुनामा धन्यवाद व्यक्त गर्नु भयो ।

विश्व स्वास्थ्य संगठनले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, ५ बेडको व्यवस्था, तथा १० हजार जनालाई तीन महिनासम्म पुग्ने औषधिसमेत हस्तान्तरण गरेको छ।

यो अस्पतालबाट रोशी गाउँपालिकाका वडा नं. १, २, ३, ४ का साथै नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका केही वडाका बासिन्दाले सेवा पाउनेछन्।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।