हरेक सय गर्भवतीमध्ये १४ जना १९ वर्षमुनिका, विवाहको उमेर घटाउने बहसले झनै जोखिम

जेष्ठ २, २०८२ |कृपाल गौतम
हरेक सय गर्भवतीमध्ये १४ जना १९ वर्षमुनिका, विवाहको उमेर घटाउने बहसले झनै जोखिम

काठमाडौं । २० वर्ष उमेर पूरा नभई विवाह गर्न नपाइने कानुनी व्यवस्था छ । यसभन्दा कम उमेरमा गरिएको विवाह स्वत: रद्द मात्र हुँदैन, विवाह गर्ने र गराउनेलाई कारबाही समेत हुन्छ । तर नेपालमा अझै ठूलो संख्यामा किशोरीहरूको उमेर नै नपुगी विवाह हुने मात्र होइन, बच्चा नै जन्माइरहेका छन् । 

अस्पताल वा स्वाथ्य संस्था पुग्ने कुल गर्भवतीमध्ये १४ प्रतिशत किशोरी रहेको तथ्यांक छ । शारीरिक तथा मानसिक रूपमा परिपक्व नभई किशोरावस्थामा बच्चा जन्माउँदा किशोरीको स्वास्थ्यमा समेत जोखिम बढाउँदै लगेको छ । जोखिम हुँदाहुँदै पनि सरकारले विवाह गर्ने उमेर घटाउने बहस चलाएको छ । यसले गम्भीर समस्या निम्तिने जोखिम देखिएको छ ।

काठमाडौंको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा गत वर्ष २२ हजार २३९ जनाले प्रसूति सेवा लिए । सुत्करी हुनेमध्ये १६ सय जना भने २० वर्षभन्दा कम उमेरका थिए । यो अस्पतालमा वार्षिक प्रसूति गराउनेमध्ये ६ देखि ७ प्रतिशत २० वर्षमुनिका हुने गरेको तथ्यांक छ । यसैगरी यहाँ वार्षिक २ हजारसम्मले गर्भपतन गराउने गरेका छन् । तिमध्ये १५ प्रतिशतको हाराहारीमा किशोरी नै हुने गरेका छन् ।

“हाम्रो अस्पतालमा गत वर्ष २२ हजार २३९ डेलिभरी भएको थियो, अधिल्लो वर्ष २३ हजार थियो, त्योभन्दा अगाडि २४ हजार थियो । त्यो डेलिभरीको अनुपातमा हाम्रो १५–१६ सय टिनएज प्रेगनेन्सी छ । र टिनएज प्रेग्नेन्सीको अहिलेको अनुपात हेर्दा ६ देखि ७ प्रतिशत देखिन्छ, विगत र अहिलेको डेटा हेर्दा”, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

काठमाडौंका अन्य अस्पतालको आकडा पनि उस्तै छ । त्रिवि शिक्षण अस्पतालमा वार्षिक साढे ३ हजारले शिशु जन्माउँदा १२० जनासम्म २० वर्षमुनिका हुन्छन् । दैनिक २० वर्षमुनिका २ जनाले गर्भपतन गराउने गरेका छन् । उता पाटन अस्पतालमा पनि दैनिक सरदर १५ जनासम्म सुत्केरी गराउन पुग्दा २ जना किशोरी हुने गरेका छन् ।

“दैनिक हाम्रो सिजरीयन सेक्सन, नर्मल सबै गर्दा औसतमा १२–१५ जना हुन्छ । त्यतिमा १ जना, २ जना हरेक दिन आइरहेको हुन्छ, टिनएज प्रेग्नेन्सी”, पाटन अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी कार्कीले बताउनुभयो ।

किशोरावस्था भनेर १० देखि १९ वर्ष उमेर समूहलाई बुझिन्छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा किशोरीको संख्या २९ लाख ६ हजार २०७ छ । यो उमेरमा गर्भधारण गर्नु तथा सुत्केरी हुनु जोखिमपूर्ण मानिन्छ । तर नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा कुल गर्भवती भएका ३ लाख ९५ हजार ८८६ मध्ये १४ प्रतिशत किशोरी छन् । कतिसम्म भने १ हजार किशोरीमध्ये ७१ जनाले बच्चा पाइसकेको अवस्था छ । 

नेपालको यो प्रजनन दर दक्षिणपूर्वी एसियामै सबैभन्दा बढी हो । यसैगरी गर्भपतन गराउनेको संख्या पनि ठूलो छ । आर्थिक वर्ष २०८०/८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएकोमा ८ प्रतिशत किशोरी थिए । यो त आधिकारीक रूपमा गर्भपतन गराउनेको तथ्याङ्क हो । असुरक्षित गर्भपतन गराउनेको संख्या झनै ठूलो हुन सक्छ ।

उमेरै नपुगी गर्भवती हुनु र शिशु जन्माउनुलाई चुनौतीपूर्ण मानिन्छ । तर हाम्रोमा अझै पनि ३१ प्रतिशत किशोरकिशोरी परिवार नियोजनका साधनको पहुँचभन्दा बाहिर रहेको तथ्यांक छ । शारीरिक, मानसिक तथा बौद्धिकरूपमा विकास नभइसकेकाले किशोरावस्थामा गर्भवती हुँदा आमा तथा बच्चा दुवैलाई जोखिम हुने जानकार बताउँछन् ।

अभिभावकहरूमा कम उमेरमै छोरीको विवाह गराइदिने प्रचलन, यौनशिक्षाको अभाव र परिवार नियोजनका साधनको पहुँच नहुँदा किशोरावस्थामै आमा बन्नुपर्ने बाध्यता धेरै किशोरीको छ ।

अहिले प्रति एक लाख जीवित जन्ममा १५१ रहेको मातृ मृत्युलाई सन् २०३० सम्ममा ९९ मा झार्ने राष्ट्रिय लक्ष्य छ । तर उमेरै नपुगि गर्भपतन गराउने तथा गर्भवती वा सुत्केरी हुनेको संख्या भयावह देखिएको छ । यो अवस्थामा सरकारले यसलाई कसरी कम गर्न सकिन्छ भनेर कदम चाल्नुपर्ने हो । तर उल्टै सरकार विवाहको उमेर घटाउने बहसमा छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।