आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विविध कार्यक्रम गरी मनाइँदै

वैशाख २९, २०८२ |महाप्रसाद खतिवडा
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विविध कार्यक्रम गरी मनाइँदै

मोरङ । आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नर्सिङ दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरी निकालियो । 

‘हाम्रा नर्सहरू, हाम्रो भविष्य : नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई बलियो बनाउँछ’ भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।

नेपाल नर्सिङ संघ मोरङले अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा निकालेको प्रभातफेरी कोशी अस्पतालबाट सुरु भई, सिडिओ अफिस चोक, गोल्छा चोक, मेनरोड, जलजला चोक, अस्पताल चोक हुँदै कोशी अस्पतालमा पुगेर सम्पन्न भएको थियो । 

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइने गरिएको छ । सन् १९७४ को जनवरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात् मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो । 

नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जनले प्रभातफेरी पछि रक्तदान, बिरामीका लागि कमोड, कुर्सी र बिरामीहरूलाई खाना वितरण गरिने बताउनु भयो ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।