नेपालमा ४ हजार भन्दा बढीमा 'अटिजम' पहिचान, सरकारीस्तरबाट पनि भएन अटिजमसम्बन्धी ठोस काम

अटिजम भएकाहरूको पहिचान गरेर आवश्यक सहयोग गर्दै शिक्षण सिकाइको सहज व्यवस्था गर्न आवश्यक
वैशाख २०, २०८२ |कृपाल गौतम
नेपालमा ४ हजार भन्दा बढीमा 'अटिजम' पहिचान, सरकारीस्तरबाट पनि भएन अटिजमसम्बन्धी ठोस काम

काठमाडौं । नेपालमा ४ हजार ८ सय ८६ जनामा अटिजम पहिचान भएको छ । विश्व स्वास्थ्य संगठनले भने प्रत्येक एक सयमा एक जनामा अटिजम हुने गरेको छ । 

यसलाई आधार मान्ने हो भने नेपालमा झन्डै ३ लाख व्यक्तिमा अटिजम छ । तर न यसको सही पहिचान भएको छ न त अटिजमसम्बन्धी काम गर्ने सरकारी संस्था नै छन । सरकारीस्तरबाट अटिजमसम्बन्धी ठोस काम पनि भएको छैन ।

अटिजम अर्थात् बालबालिकाको स्नायु विकाशसम्बन्धी समस्या हो । यो यस्तो अवस्था हो- जसमा विशेगगरी बालबालिकाको सञ्चारमा समस्या हुन्छ । अटिजम भएका बच्चामा अरूको वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेरअनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहनेलगायतका समस्या देखिन्छन् ।

हालसम्म अटिजम यही कारणले हुन्छ भन्ने पत्ता लागेको छैन । तर विभिन्न अध्ययन तथा अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या भएमा, वंशाणुगत, वातावरणीय प्रभावलगायतका कारणले पनि यसको जोखिम बढाएको पाइएको छ । त्यसैगरी समय नपुगी बच्चा जन्मेमा, जन्मँदा नै स्वास प्रस्वासमा समस्या देखिँदा पनि अटिमको जोखिम बढाउने चिकित्सक बताउँछन् ।

अटिजमको लक्षण प्राय: १८ महिनादेखि २ वर्षको उमेरमा देखिन्छ । यसको ठोस उपचार नभएपनि जति छिटो पत्ता लाग्यो त्यति नै चाँडो सघन उपचार, शिक्षा र थेरापीले बालबालिकाको अवस्था र व्यवहारमा सुधार ल्याउन सकिने चिकित्सक बताउँछन् । 

तर अटिजमको क्षेत्रमा काम गर्ने संस्था न्यून छन । निजी स्तरमा प्रत्यक्ष र अप्रत्यक्ष गरी यससम्बन्धी काम गर्ने झन्डै ६० वटा संस्था छन । तर सरकारी संस्था एउटा पनि छैन । 

पछिल्लो समय केही स्थानीय तहले यसमा काम गर्न थालेको भनिए पनि पर्याप्त छैन । अटिजम भएका बालबालिकाको शिक्षण सिकाइलगायतको व्यवस्था गर्ने जिम्मा शिक्षा, स्वास्थ्य, महिला-बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भए पनि उनीहर"ले प्रभावकारी काम गर्न सकेका छैनन् ।

२०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार नेपालमा ४ हजार ८ सय ८६ जनामा अटिजम भएका व्यक्ति पहिचान भएका छन । तर विश्व स्वास्थ्य संगठनका अनुसार १ सय जना बालबालिकामध्ये १ जनामा अटिजम देखिने गर्छ । 

यो हिसाबले हेर्दा नेपालमा झन्डै तीन लाखमा यो समस्या भएको अनुमान गरिन्छ । सरकारले भने अटिजम भएकाहरूको संख्या बढ्दै जाने देखिएमा त्यहीअनुसारका कार्यक्रम अघि बढाउने जनाएको छ ।

अटिजम भएका हरेक व्यक्तिमा फरक-फरक लक्षण देखिन्छन् । यसले पनि कसलाई अटिजम भएको हो वा होइन भन्न छुट्याउन सहज छैन । सरकारले सचेतना बढाउँदै अटिजम भएकाहरूको पहिचान गरेर आवश्यक सहयोग गर्दै शिक्षण सिकाइको सहज व्यवस्था गर्न आवश्यक छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।