काठमाडौं । राष्ट्रिय सभाले भारतको ओडिसास्थित किट विश्वविद्यालयमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्न र उचित न्याय दिन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकले भारतीय विश्वविद्यालयमा प्रिसा साह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गरी उचित न्याय दिन सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा सांसदहरूले सरकारले समयमै सजग भएर भारतको किट विश्वविद्यालयलाई वैदेशिक अध्ययन अनुमति पत्र दिन रोक्न माग गरेका हुन् । यसअघि प्रकृति लम्सालको मृत्यु प्रकरणको प्रतिवेदनबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसहरूको माग छ ।
सांसदहरूले बर्खा लाग्दै गर्दा राजमार्गहरू अवरुद्ध हुन थालिसकेको भन्दै समयमै मर्मतमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
दलित समुदायको हक अधिकारको प्रतिवेदनबारे पनि सांसदहरूले छलफल गर्दै सरकारले दलित अधिकारको कानुन बनाउन माग गरेका छन् । राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले मुलुकमा सुशासन नभएको, बेथिति बढेको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।