
काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार मातृका दाहालले एक लाख रुपैयाँ राशिको सुशासन पुरस्कार प्राप्त गर्नुभएको छ । अमेरिकाको टेक्ससमा कार्यालय रहेको हेम–सरिता पाठक फाउन्डेशनद्वारा स्थापित ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ कान्तिपुरकर्मी दाहाललाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।
नगद एक लाख राशिकै सुशासन पुरस्कारबाट उकालो अनलाइनकी पत्रकार दीपा दाहाल पनि सम्मानित हुनुभएको छ ।
खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्याएको योगदानस्वरूप कान्तिपुर र उकालोका पत्रकारद्वयलाई पुरस्कृत गरिएको फाउन्डेशनले जनाएको हो । प्रमुख अतिथि प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउन्डेशनका प्रमुख संरक्षक हेम पाठक र फाउन्डेशनका अध्यक्ष जेनी पाठकले पत्रकारद्वय दाहाललाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गर्नुभयो ।
फाउन्डेशनका प्रमुख संरक्षक पाठकले पत्रकारिताका माध्यमबाट देश र जनताको हितमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने गरी आफ्ना दिवंगत बाआमा टंकप्रसाद पाठक र रमादेवी पाठकका नाममा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय कान्तिपुरकर्मी दाहालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको शरणार्थी काण्ड, बालुवाटारस्थित ललिता निवास जग्गा काण्ड, पतञ्जली जग्गा प्रकरण, सुन तस्करी, प्रहरीका हतियार खरिदमा भएको अनियमितता, सहकारी ठगी प्रकरण, नवलपरासीस्थित वुद्धको अस्थिधातु समाधिस्थलको जग्गा हिनामिना, टेरामक्स प्रकरण लगायत उच्च पदस्थ राजनीतिक, प्रशासनिक, व्यापारी/बिचौलिया जोडिएका ठूला भ्रष्टाचार र घोटाला बाहिर ल्याउनुभएको थियो ।
खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्याएको योगदानस्वरूप कान्तिपुरका पत्रकार दाहालले अमेरिकी सरकारद्वारा स्थापित भ्रष्टाचार विरुद्धको ‘एन्टी करप्सन च्याम्पियन अवार्ड–२०२४’ सहित बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कार (२०८१), अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुशासन अवार्ड–२०७९ र २०८०, नेपाल आर्थिक पत्रकार समाजद्वारा स्थापित सेजन अवार्ड–२०७६ र २०८०, इन्जा खोज पत्रकारिता पुरस्कार–२०७९, रिलायन्स कलेज सुशासन पुरस्कार २०८१, लगायत विभिन्न अवार्ड/पुरस्कार र सम्मान पाइसक्नुभएको छ ।
उकालोकी दीपा दाहालले बाँसबारी जग्गा घोटाला, जुद्धोदय विद्यालयको जग्गा अनियमितता लगायत विभिन्न अनियमितता प्रकरण बाहिर ल्याउनुभएको छ ।
यसैगरी प्रतिष्ठानले भ्रष्टाचारविरुद्ध रचिएका गीत, कविता गायनमा संलग्न तीन स्रष्टालाई पनि नगदसहित पुरस्कार प्रदान गरेको छ । हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार गीतकार गोपालप्रसाद थपलिया र गायक तथा संगीतकार शिशिर योगी जनही ५० हजार राशिसहित र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार नगद एक लाखसहित कवि तोया भट्टलाई प्रदान गरिएको छ ।
कविताका माध्यमबाट बेथितिविरुद्ध सक्रिय रहेको भन्दै २५ जना कविलाई पनि प्रतिष्ठानले सम्मान गरेको छ ।