
बाँके । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी आर्थिक वर्षमा पनि सरकारले स्वास्थ्य क्षेत्रका लागि पर्याप्त बजेट दिन नसक्ने बरु घटेर आउने बताउनुभएको छ । नेपालगन्जमा आज भेरी अस्पतालको जलन कक्षको उद्घाटनपछि मन्त्री पौडेलले बीमा रकमको पुरानो भुक्तानी समेत दिन नसक्ने अवस्थामा पुगेकाले बीमितहरूबाटै रकम दिने नीति अपनाउन बाध्य हुने बताउनुभयो ।
स्वास्थ्य बीमाको पुरानो बक्यौता भुक्तानीसहित मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ४० अर्ब रुपैयाँ आवश्यक पर्छ । तर सरकारले स्वास्थ्य मन्त्रालयलाई बढीमा १० अर्ब रुपैयाँ दिनेसक्ने गरी सिलिङ तोकेपछि मन्त्री पौडेलले यसमा चिन्ता व्यक्त गर्नुभएको हो ।
मन्त्री पौडेले भेरी अस्पतालको पूर्वाधार विकास गर्न समेत बजेट अभाव भएको बताउनुभएको छ । उहाँले अस्पताल फार्मेसीमा केही दिनअघि भएको आगलागीको घटनामाथि छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन पनि दिनुभएको छ ।