काठमाडौं । नर्भिक अस्पताल ३३औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल तीन दशकभन्दा लामो अवधिमा ‘मल्टी स्पेसियालिटी अस्पताल’ बन्न सफल भएको अस्पतालले जनाएको छ ।
स्थापनाको ४ वर्षपछि सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टिच्युटको सहकार्यमा हर्ट कमान्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गर्यो । त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सरु गर्यो ।
यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापी जस्ता सेवा सञ्चालन गरिरहेको छ ।
नर्भिकले प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाएको जनाएको छ । यस्तै, नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ ।
हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाइरहेको छ । सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणपछि नर्भिक अस्पताल ३ सय बेडको हुनेछ ।