काठमाडौं । विश्वको वायु प्रदूषित सहरको सूचीमा काठमाडौं आज पनि एक नम्बरमा पर्यो । आज मात्र हैन, पछिल्लो दुई सातादेखि काठमाडौं विश्वकै प्रदूषित वायु भएको शहरको सूचीमा अग्रस्थानमा रहँदै आएको छ । तर सरकारले समस्या समाधान गर्न दतारुकता देखाएको छैन । अलमलमा परेर सामान्य छलफलमै रमाइरहेको सरकारले आफ्नो भूमिका भने बिर्सिएको छ ।
संघीय राजधानी काठमाडौं मंगलबार विश्वकै प्रदूषित शहरको सूचीमा एक नम्बरमा पर्यो । तपाईंलाई यो नौलो नलाग्न सक्छ । किनभने झन्डै दुई सातादेखि अवस्था यस्तै छ । बेला–बेला काठमाडौंको वायु गुणस्तर सूचकांक साँढे ३ सयभन्दा माथीसम्म पुग्ने गर्छ । जुन खतरनाक मानिन्छ । प्रदूषणकै कारण आँखा पोल्ने, छाला चिलाउने, टाउको दुख्ने समस्या धेरैमा देखिएको छ ।
काठमाडौंका सडकमा हिँड्दा आँखा पोल्ने, नाक पोल्ने, आँखा चिलाउने धेरै असर भइरहेको र टाउको दुख्ने भइरहेको बताउनु हुन्छ राधिका बिडारी । वायु प्रदूषणले परेको असरबारे स्थानीय आशाराम महर्जन भन्नुहुन्छ, 'मलाई त आँखा पिरो हुन्छ, घाँटी पनि खसखस गरिरहन्छ, बेलुका भएपछि ज्वरो आएको जस्तो महसुस हुन्छ । बिहान-बेलुका झनै गाह्रो परेको जस्तो हुन्छ, दिउँसो चाहिँ अलि सहज हुन्छ ।'
लगातार वायु प्रदूषण उच्च रहेको र नागरिकले सास्ती भोग्नुपरेको अवस्थामा सरकारले कुनै कदम चालिसक्नुपर्ने हो । तर, सरकार चुकेको छ । चैत २१ गते कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वन तथा वातावरण, उद्योग, शहरी विकाशलगायतका मन्त्रालयका प्रतिनिधि, सरोकारवाला तथा विज्ञहरुसँग छलफल गर्नुभयो । वायु प्रदूषण न्यूनीकरण गर्न आपतकालीनदेखि दीर्घकालीन उपाय औंल्याइयो र त्यही अनुसार निर्णय पनि भयो ।
केही समयका लागि उद्योग र विद्यालय बन्द गर्ने, सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्ने, डढेलो नियन्त्रण गर्न सवै जिम्मेवार निकायका संयन्त्रलाई प्रभावकारी परिचालन गर्नेलगायत ९ बुँदे निर्णय भयो । तर कार्यान्वयनको पाटो शुन्य प्रायः छ ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विक भन्नुहुन्छ, 'हामी छलफलमै छौं, यो एकदमै गम्भीर विषय हो । कसरी प्रदूषणलाई न्यूनिकरण गर्ने हो भन्नेमा सबैको चिन्ता छ ।'
अहिले वायु प्रदूषणकै कारण अस्पतालमा दम, ज्वरो, निमोनिया, आँखा चिलाउनेजस्ता समस्या लिएर पुग्ने बिरामी बढेका छन् । यी त अल्पकालीन समस्या मात्र हुन् । वायु प्रदूषणको अवस्था लामो समयसम्म यस्तै रहे क्यान्सर जस्ता घातक रोग र अन्य दीर्घकालीन समस्या निम्तिन सक्ने टेकु अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन बज्राचार्य बताउनु हुन्छ ।
वायु प्रदूषणले यति धेरै जोखिम निम्त्याइरहँदा पनि सरकार भने छलफलमै मात्र व्यस्त हुनु पक्कै सुहाउने विषय होइन । विज्ञ र सरोकारवालाहरुले दिएका सुझाव कार्यान्वयन गर्दै केही प्रभावकारी कदम तत्काल नचाल्ने हो भने समस्या जटिल बन्न सक्छ । के सरकारले आफ्ना नागरिकलाई यस्तै अवस्थामा छाड्ने हो ? नागरिकको स्वास्थ्यप्रति राज्यको दायित्व यही हो ? वायु प्रदूषण नियन्त्रणमा सरकारको भूमिका खै ?