आईपीएलमा आज गुजरात र कोलकाताबीच प्रतिस्पर्धा

वैशाख ८, २०८२ |खेल ब्युरो
आईपीएलमा आज गुजरात र कोलकाताबीच प्रतिस्पर्धा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३९ औं खेलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल कोलकाताको घरेलु मैदान इडन गार्डेन रंगशालामा खेल राति पौने ८ बजेबाट सुरु हुनेछ । 

दुवै टोली यस सिजनमा पहिलो पटक आमनेसामने हुँदै छन् ।

गुजरातले यो सिजन ७ खेलमध्ये ५ जित्दै अंक तालिकाको पहिलो स्थानमा रहेको छ । गुजरात यस खेलमा जित हात पार्दै प्लेअफ दौडमा आफूलाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । अर्कोतर्फ, गत सिजनको विजेता कोलकाताले हालसम्म ७ मध्य ३ खेल मात्र जितेको छ । ऊ लिगको छैटौं स्थानमा छ । प्लेअफको सम्भावना जिवित राख्न कोलकाता पनि जित हात पार्ने योजनामा हुनेछ ।

कोलकाता र गुजरातबीच हालसम्म चार खेल भएका छन् । तीमध्ये दुई खेल गुजरातले जितेको छ भने एक खेल कोलकाताले जितेको छ । अर्को एक खेल वर्षाका कारण रद्द भएको थियो ।

जारी सिजनमा कोलकाताका लागि कप्तान अजिंक्या रहाणेले सबैभन्दा धेरै ७ खेलमा २२१ रन बनाएका छन् । आफ्नो पहिलो खेलमा उनले बेंगलोरविरुद्ध ५६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । बलिङतर्फ वरुण चक्रवर्तीले ७ खेलमा १० विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हालसम्म गुजरातका लागि साई सुदर्शनले सबैभन्दा धेरै रन बनाएका छन् । उनले ७ खेलमा ३६५ रन बनाइसकेका छन् । जसमा ४ अर्धशतक समेत सामेल छन् । बलिङमा प्रसिद्ध कृष्णा अगाडि छन् । जसले ७ खेलमा १४ विकेट लिएका छन् । उनले पन्जाबविरुद्धको खेलमा ३० रन खर्चिएर ३ विकेट लिएका थिए ।

इडन गार्डेनको पिच ब्याटिङमैत्री मानिन्छ । यहाँ अहिलेसम्म ९६ आईपीएल खेल खेलिएका छन् । जसमध्ये रन चेज गर्ने टोलीले ५६ खेल जितेका छन् । यो मैदानमा हालसम्मको उच्चतम टिम स्कोर २६२ रनमा २ विकेट हो । 

जुन स्कोर पन्जाबले गत सिजन कोलकाताविरुद्ध बनाएको थियो । आज कोलकाताको मौसम निकै गर्मी रहनेछ । दिनभर घाम लाग्नेछ र वर्षाको कुनै सम्भावना छैन । तापक्रम २७ देखि ३६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।