काठमाडौं । लिभरपुल प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । गए राति सम्पन्न खेलमा लेस्टर सिटीलाई १-० ले पराजित गरेसँगै लिभरपुललाई उपाधि जित्न अब केवल ३ अंक आवश्यक छ ।
ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्डले बेन्चबाट आएर खेलको निर्णायक गोल गरे । हारसँगै लेस्टर सिटी च्याम्पियनसिपमा झरेको छ ।
मार्चमा घाइते भएपछि पहिलो पटक मैदानमा फर्किएका अलेक्ज्यान्डर-अर्नोल्डले मोहम्मद सलाह र डिओगो जोटाले पोस्टमा गरेको प्रयास सफल नहुँदा ७६ औं मिनेटमा गोल गर्दै शानदार पुनरागमन गरे । लिभरपुलले उनको सम्झौता अझै नवीकरण नभएको र फ्रि-ट्रान्सफरमा रियल मड्रिड जाने चर्चा चलिरहेका बेला आएको यो प्रदर्शनले नयाँ बहसको सुरुआत गरेको छ ।
पराजित लेस्टर सिटीले लगातार नवौं घरेलु खेलमा गोल गर्न नसकेको खराब इतिहास बनायो । यो सिजनको खराब प्रदर्शन र व्यवस्थापनको आलोचना स्वरूप खेलअघि समर्थकले ब्यानरसहित विरोध गरेका थिए ।
अब लिभरपुलले आइतबार टोटनहमविरुद्धको खेलमा उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । यद्यपि बिहिबार आर्सनलले क्रिस्टल प्यालेसविरुद्ध पोइन्ट ड्रप गरे लिभरपुलको उपाधि सुनिश्चित हुने छ ।
लिभरपुल ३३ खेलमा ७९ अंक सहित शीर्ष स्थानमा छ । समान खेलमा ४ खेल जितेको लेस्टर सिटी लिगको पुछारबाट दोस्रो स्थानमा छ । ऊ प्रिमियर लिगबाट रेलिगेसनमा पर्दै च्याम्पियनसिपमा झरेको छ ।
प्रिमियर लिगमै गए राति सम्पन्न खेलमा दोस्रो स्थानको आर्सनलले इप्सविच टाउनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । चेल्सीले फुलहमलाई २-१ ले पराजित गर्दा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग १-० ले स्तब्ध भयो ।