काठमाडौंमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुँदै, डेढ सयभन्दा बढी चिकित्सक सहभागी हुने

फाल्गुन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुँदै, डेढ सयभन्दा बढी चिकित्सक सहभागी हुने

काठमाडौं । यही फागुन १७ गते शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ । सम्मेलनको मुख्य उद्देश्य नेपालमा विकराल बन्दै गएको मधुमेहबारे सबैलाई सचेत तुल्याउनु र समाधानहरूको पहल गर्नु रहेको आयोजकले जनाएको छ ।

ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिप द म्यासिफ होटलमा आयोजना हुने एक दिने सम्मेलनमा विश्वका विभिन्न मुलुकका विशेषज्ञहरूले मधुमेह हेरचाह र उपचारमा भएका प्रमुख अनुसन्धान र नवप्रवर्तनहरूबारे प्रस्तुति दिनेछन् ।१५० भन्दा बढी चिकित्सकहरू सहभागी हुने सम्मेलनमा मधुमेह अनुसन्धान, उपचार र हेरचाहमा भएका प्रगति र उपलब्धिबारे चर्चा गरिने, मेडिकल एजुकेशन सेसन र प्यानल डिस्कसनका माध्यमबाट मधुमेहबारे जानकारीहरू आदानप्रदान गरिने र नेपालमा मधुमेहको उपचारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षहरूबीचको सहकार्यलाई बलियो बनाइने बताइएको छ ।

सम्मेलनमा भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्रिनोलोजी, डायबिटिज एन्ड मेटाबोलिजम डिपार्टमेन्टका प्रमुख तथा प्राध्यापक डा. नितिन कपूर, संयुक्त राज्य अमेरिकाको बायस्टेट मेडिकल सेन्टरका इन्पेसेन्ट डाइबिटिज सेन्टरका निर्देशक प्राध्यापक डा. राजु पन्त, अमेरिकाकै युनिभर्सिटी एट बफालोको प्रा. डा. अजय चौधरी, आइन्स्टाइन–माउन्ट सिनाई क्षेत्रीय मधुमेह अनुसन्धान केन्द्रका सहायक निर्देशक प्रा. डा. मेरिडिथ हक्विन्स र टेक्सास विश्वविद्यालय स्वास्थ्य विज्ञान केन्द्रका मधुमेह विभाग प्रमुख प्रा. डा. राल्फ डिफ्रान्जो लगायत सहभागी हुनुहुनेछ ।

धनयोग फाउन्डेसन (यूएसए र नेपाल) ले आयोजना गरेको अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, म्यासाचुसेट्स विश्वविद्यालय, डायबिटिज एन्ड, एन्डोक्रिनोलोजी एसोशिएशन र नेपाल हेल्थ क्रप्सको सहकार्यमा हुन लागको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement