काठमाडौं । नेपालले बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि सहयोगस्वरूप प्राप्त गरेको छ । गत मंसीर १ गतेबाट लागू हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गर्ने मन्त्रालयको मन्त्रीस्तरीय निर्णय कार्यान्वयनमा यस औषधिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्राप्त औषधिहरू भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुनेछन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै नियन्त्रणका पक्षमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनका लागि पनि काम गरिरहेको बताउनुभएको छ । “कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित नहोऊन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं ।
बाल क्यान्सर उपचार प्रभावकारी बनाउन प्राप्त सहयोगका लागि हामी हाम्रा सहयोगी दातृ संस्थाहरूप्रति आभार प्रकट गर्दछौं”, उहाँले जारी गरेको सन्देशमा भनिएको छ ।