काठमाडौं । सरकारले गत कात्तिक २ गते सातै प्रदेशमा आर्थिक अभाव भएका जलनबाट पीडित बिरामीको निःशुल्क उपचार गर्ने निर्णय गर्यो । निर्णय अनुसार हरेक प्रदेशमा अस्पताल पनि तोकियो । सार्वजनिक सूचनाका लागि सरकारले जानकारी प्रवाह पनि गर्यो । तर अझै पनि काठमाडौं बाहिरका अस्पतालहरूमा जलनका उपचारका लागि समस्या छ । बाहिर मात्र हैन, काठमाडौंमै पनि समस्या छ ।
शनिबार पोखरामा एउटा कार्यक्रममा बेलुन पड्किएर आगो फैलिँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभयो । गण्डकी अस्पताल र फिसटेल अस्पतालमा सामान्य उपचारपछि उहाँहरूलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो र कीर्तिपुर अस्पतालमा उहाँहरूको अहिले उपचार भइरहेको छ ।
कीर्तिपुर अस्पतालले प्रारम्भिक उपचारपछि विज्ञप्ति निकालेर भन्यो, ‘दुवै जना सघन उपचार कक्षमा भर्ना हुनुभएको छ । प्रारम्भिक मूल्यांकन अनुसार ५-६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।'
अस्पताल प्रशासनले अहिले उहाँहरूको अवस्था सामान्य रहेको र सुधारोन्मुख रहेको जनाएको छ । दुवैलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गरिनेछ ।
त्यसो त कीर्तिपुर अस्पतालमा नै कमलपोखरीस्थित शानदार मममा भएको ग्यास विस्फोटका ७ घाइतेको पनि उपचार भइरहेको छ । ११ जना मध्ये ४ जनाको उपचारकै क्रममा मृत्यु भयो ।
सरकारले कात्तिक २ मा सातै प्रदेशमा अस्पताल नै तोकेर आर्थिक अभाव भएका जलनबाट पीडित बिरामीको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार सातै प्रदेशका अस्पतालहरूमा जलनको उपचार सुरू गर्ने व्यवस्था भएको हुनुपर्ने हो । तर अवस्था त्यस्तो छैन ।
गण्डकी प्रदेशको हकमा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलन सम्बन्धी उपचार सेवा सुरू गर्ने, त्यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन भइसक्नुपर्ने हो । तर शनिबार जलन भएका दुवै भीभीआईपीलाई त्यहाँ लगिएन, एक जनालाई गण्डकी अस्पताल र अर्कालाई फिसटेल अस्पताल लगियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशिष्टिकृत सेवा हुँदाहुँदै त्यहाँ नलग्नुको कारण के ? दुई भीभीआईपीलाई अस्पताल पुर्याउनेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार सम्भव छ भन्ने थाहा भएन, वा प्रतिष्ठानमा त्यसको व्यवस्था नै थिएन ।
काठमाडौं बाहिर जलनको सामान्य उपचार हुने भए पनि जटिल बिरामी काठमाडौं नै आउनुपर्ने बाध्यता छ । अस्पतालहरूले नै रेफर गर्ने गरेका छन् । कीर्तिपुर अस्पतालकै अनुसार यहाँ उपचार गराउने ९२ प्रतिशत बिरामी काठमाडौं बाहिरबाट आउँछन् । बाहिर उपचारको उचित व्यवस्था नभएकै कारण यो अवस्था आएको हो ।
कीर्तिपुर अस्पताल आफैंमा स्रोत सम्पन्न अस्पताल होइन । यहाँ देशैभरि उपचार सम्भव नभएपछि गम्भीर प्रकृतिका जलनका बिरामी आइपुग्छन् । तर उसलाई शय्यादेखि जनशक्तिसम्म अपर्याप्त छ । अहिले यहाँ जलनको उपचारका लागि जम्मा ८ वटा मात्र डेडिकेटेट आईसीयू छ । यता वीर अस्पतालमा पनि जलनका लागि ३ वटा डेडिकेटेड आईसीयू छ भने त्रिवि शिक्षण अस्पतालमा जलनका लागि डेडिकेटेड आईसीयू छैन । अरू अस्पतालहरूमा जलनको प्राथमिक उपचार मात्रै हुने गरेको छ । चिकित्सकहरूका अनुसार काठमाडौंमै जलनको ठूला घटना भएमा उपचार पाउन कठिन छ ।
“बाहिरबाट पनि यहीं पठाउने चलन छ । काठमाडौ लगायत देशैभर स्रोत साधनको अभावमा उपचारमा समस्या छ”, वीर अस्पतालका प्लास्टिक सर्जन डा. अपार लामिछानेले बताउनुभयो ।
सरकारले निर्णय गर्ने तर तोकिएका अस्पतालको क्षमता वृद्धि र सेवा सुरू गर्ने काममा ढिलाइ गर्दा बिरामीले प्रदेशमै उपचार सेवा पाउनबाट वञ्चित भइरहेका छन् ।
जलनको उपचारमा समस्या देखिँदा समेत सरकार विशेष गरी स्वास्थ्य मन्त्रालयसँगै ठोस जवाफ छैन । घोषणा गरेको ५ महिनासम्म पनि कार्यान्वयनतर्फ देखिएको उदासीनता गम्भीर छ । प्रदेशमा घाइते भएर उपचारका लागि सर्वसाधारण नागरिकदेखि भीभीआईपीसम्म काठमाडौं नै आउनुपर्ने बाध्यता कहिले अन्त्य होला ?