महाराजगन्ज नगरपालिकाको एउटै वडामा कुष्ठरोगका ३१ बिरामी फेला

पुस १६, २०८१ |मनोज पौडेल
महाराजगन्ज नगरपालिकाको एउटै वडामा कुष्ठरोगका ३१ बिरामी फेला

कपिलवस्तु । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रति १० हजार जनामा एक जनाभन्दा कम बिरामी फेला परेपछि सरकारले ०६६ माघ ५ गते देशबाट कुष्ठरोग निवारण भएको घोषणा गर्‍यो । तर त्यसपछि खोज अभियान सञ्चालनमा सरकारले बेवास्ता गर्दा कुष्ठरोगका बिरामी बढ्न थालेका छन् । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-५ मा कुष्ठरोगका ३१ बिरामी फेला परेपछि सबैको चिन्ता बढेको छ ।

महाराजगन्ज-५ को उदयपुरमा मात्रै हालै छाला रोग उपचार शिविर सञ्चालन गर्दा १० कुष्ठरोगी पहिचान भए । त्यसपछि सो वडाका सात वटै गाउँमा तीन दिने खोजी अभियान चलाउँदा थप पाँच बिरामी भेटिए । ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा अरू तीन जना थपिए । बिस्तारै शंकास्पद बिरामी आफैं स्वास्थ्यचौकी आउन थाले । दुई सातामा ३१ जना बिरामी फेला पर्दा जिल्लाका स्वास्थ्य अधिकारी समेत अचम्म परेका छन् ।

“स्वास्थ्य चौकी जाँदा कुष्ठरोग भएको थाहा भयो । दाग देखिएको ठाउँ चिमोट्दा पनि थाहा हुँदैन थियो । अहिले औषधि खाएपछि ठीक भयो”, कुष्ठरोग संक्रमित माया यादवले बताउनुभयो ।

कपिलवस्तुमा हाल मुलुकमै सबैभन्दा धेरै कुष्ठरोगी छन् । २०६९ सालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएपछि ४/५ वर्ष अवस्था नियन्त्रणमै भए पनि बिस्तारै बढ्दै गएर मुलककै धेरै बिरामी हुने जिल्ला भएको छ ।

विश्व स्वास्थ्य संगठनले कुष्ठरोग निवारणमा सहयोग बन्द गरेको छ । स्वास्थ्य मन्त्रालयले कुष्ठरोग महाशाखा समेत खारेज गरेको छ । तर सन् २०२० सम्ममा मुलुकलाई कुष्ठरोगमुक्त गर्ने अभियान सफल नभएपछि सरकारले अर्को लक्ष्य २०३० तोकेको छ । कपिलवस्तुमा कुष्ठरोग निवारणमा फेयरमेट, द लेप्रोसी मिसन र यूएमएन लगायतका दातृसंस्थाले काम गरिरहे पनि प्रभावकारी देखिएको छैन । चेतना अभाव, गरिबी र अशिक्षाले रोग लुकाएर बस्नाले समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । ठूलो समस्यामा नपर्दासम्म अस्पताल नजाने प्रवृत्ति छ । धेरै त अंगभंग हुने अवस्थामा पुगेपछि मात्रै स्वास्थ्यसंस्था जान्छन् ।

कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ । अनुहार, ढाड, जिउ र हातखुट्टामा सेतो वा रातो रंगको फुस्रो दाग देखिन्छ । दागमा रौं नउम्रिने, पसिना नआउने, अनुहार तथा हात खुट्टामा गिर्खा आउने लगायतका लक्षण देखिन्छन् । यो रोग अवस्था हेरी ६ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवन गरे निको हुन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement