औषधि बनाउने वैद्यखाना आफैं बिरामी

पुस ८, २०८१ |कृपाल गौतम
औषधि बनाउने वैद्यखाना आफैं बिरामी
काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी स्वामित्वको एक मात्र संस्था हो– सिंहदरबार वैद्यखाना विकास समिति । तर पछिल्ला वर्षहरुमा यहाँ औषधि नै उत्पादन हुँदैनन् भन्दा पनि हुन्छ ।

सिंहदरबार वैद्यखानाबाट अहिले मुस्किलले ४ प्रकारका औषधि बनिरहेका छन् । त्यो पनि कहिलेसम्म हो टुंगो छैन । औषधि उत्पादन गर्न भन्दै स्वास्थ्य मन्त्रालयले केही दिन अघि वैद्यखानालाई निर्देशन पनि दिएको थियो । तर राजनीतिक हस्तक्षेपले थिलथिलो भएको वैद्यखाना भन्छ– कच्चा पदार्थ माग गरेको ८ महिनासम्म पनि आएन ।

४ सय वर्षभन्दा लामो इतिहास बोकेको सिंहदरबार वैद्यखाना विकास समितिमा अहिले च्यावनप्रास, सिलाजित, अश्वगन्धा र मिमिया मात्र उत्पादन हुन्छ । कारण हो– समितिले औषधिको कच्चा पदार्थ ल्याउन ठेक्का दिएको ८ महिना बितिसक्दा पनि नआउनु । ई विडिङ्ग र वोलपत्र आह्वान गर्दा एउटै सप्लायर्सले ठेक्का भर्ने र पाउने गरेकाले समस्या देखिएको हो । 

२ करोड रुपैयाँभन्दा धेरैको ठेक्का गरेकोमा जम्मा ८ महिनामा १५ लाखको मात्र कच्चा पदार्थ आएको छ । जबकी २५ लाखभन्दा बढी महिनामै तलब भत्तामा सकिन्छ । वैद्यखानाका प्रमुख व्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेपकै कारण संस्था नै केही गर्न नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ ।

त्यो त मन्त्रीसहित स्वास्थ्य मन्त्रालयका उच्च पदाघिकारीहरुले गत बिहीबार सिंहदरबार वैद्यखानाको निरीक्षण गरेका थिए । त्यस क्रममा मन्त्री स्वयमले औषधि उत्पादन गर्न सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । तर त्यसलगत्तै वैद्यखानाका कार्यकारी निर्देशकले सामाजिक सञ्जालमा पाँच बुँदे समस्या सार्वजनिक गर्नुभयो र ती समस्या समाधान नभएसम्म उत्पादन गर्न नसकिने जानकारी दिनुभयो । यो प्रकरणपछि स्वास्थ्य मन्त्रालयले उहाँसँग स्पष्टीकरण नै माग्यो ।

 मन्त्रालय भन्छ– ठेकेदारले बदमासी गरेमा कानुनअनुसार जान सकिन्छ तर नेतृत्वको क्षमताले भ्याउँदैन भने मन्त्रालयलाई नै लिखितरुपमा जानकारी गराउनु ।

सरकारी स्वामित्वको संस्थाले आयुर्वेदिक औषधि उत्पादन गर्न नसक्दा भारत, चीनलगायत देशमा उत्पादित आयुर्वेदिक औषधिको भर पर्नुपरेको छ । जबकी नेपालमा उत्पादित आयुर्वेदिक औषधिको विदेशमा समेत उच्च माग छ । यति हुँदाहुँदै पनि यो संस्थालाई सबल बनाउन कुनै प्रयास भएको छैन । संस्थानको नेतृत्वले सरकारसँग जुहारी खेलेर बस्ने अनि स्वास्थ्य मन्त्रालय पनि आश्वासन मात्र बाँडेर रमाउने हो भने सुधार कसरी सम्भव होला र ?


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement