काठमाडौं । नेपालबाट हरेक वर्ष ६ देखि ७ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर उनीहरुको स्वास्थ्य अवस्था भने जटिल बन्ने गरेको देखिएको छ । वैदेशिक रोजगारीका क्रममा हुने स्वास्थ्यसम्बन्धी लापरबाहीका कारण कयौं युवा रोग बोकेर फर्कने गरेका छन् । सरकारले त्यस्ता श्रमिकको स्वास्थ्य उपचारबारे न कुनै चासो राखेको छ न त आफैंले गठन गरेको कार्यदलले दिएका सुझाव नै कार्यान्वयन गरेको छ । बरु श्रमिकले पठाएको रेमिट्यान्सलाई देखाएर सरकार रमाउने गरेको छ ।
भक्तपुरको शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको तथ्यांकअनुसार मिर्गौला डाइलाइसिस गराइरहेका मध्ये २७ प्रतिशत वैदेशिक रोजगारीमा गएर आएकाहरु छन् । मिर्गौला प्रत्यारोपण गराएकामध्ये पनि २८ दशमलव ९ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएकाहरु नै छन् । यो तथ्यांकले के देखाउँछ भने वैदेशिक रोजगारीमा गएकाहरुमा सबैभन्दा बढी मिर्गौलाको समस्या हुने गरेको छ ।
चर्को घाममा धेरै समय काम गर्ने, समयमै पानी नपिउने, पानीको सट्टा अन्न पेय पदार्थ धेरै पिउनेलगायतका कारण उनीहरुमा मिर्गौलाको समस्या देखिने गरेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउनुहुन्छ । 'हाम्रो वैदेशिक रोजगारीमा जानेहरु चरम गर्मीमा काम गर्नुहुन्छ,' उहाँले भन्नुभयो, 'लामो समय १२ घण्टा बढी पनि काम गरेको धेरै पाइएको छ । उहाँहरु दिउसो अति गर्मीमा काम गर्ने र राति चै एकदम चिसोमा सुत्ने गर्दा खेरी सडेन तापक्रम फरकमा लाइफ बिताउँदा पनि मिर्गौला लगायत अन्य अंग पनि फेल हुने सम्भावना हुन्छ ।'
प्रत्यारोपण केन्द्रको अध्ययनले वैदेशिक रोजगारीबाट फर्केकाहरुमा मिर्गौलसम्बन्धी समस्या डरलाग्दोरुपमा देखिएको हो । तर बिडम्बना सरकारसँग एकीकृत तथ्यांक छैन । विभिन्न अध्ययनले वैदेशिक रोजगारीमा गएर फर्केकाहरुमा मानसिक र संक्रामक रोगको समेत समस्या देखिने गरेको देखाएका छन् । चिकित्सकहरुले पनि यसलाई पुष्टि गरेका छन् ।
जानकारहरुका अनुसार वैदेशिक रोजगारीमा जानेहरुमा यस्ता समस्या देखिनुका भिन्न–भिन्न कारण छन् । हालै श्रम मन्त्रालयले गठन गरेको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनले समस्याका विभिन्न पक्ष औंल्याएको छ र सरकारलाई अब के गर्ने भन्ने सुझावसमेत दिइसकेको छ ।
कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार सर्वप्रथम वैदेशिक रोजगारीमा जानेहरुलाई नेपालमा स्वास्थ्य परीक्षण गर्दा गलत रिपोर्ट दिइने गरेको छ । जसका कारण नेपालमा दिइएको रिपोर्टमा स्वास्थ्य अवस्था राम्रो भएको देखिने तर विदेशमा पुगेर पुन: परीक्षण गर्दा समस्या देखिने गरेको छ । त्यही कारण कतिपय श्रमिकलाई फर्काइने गरेको छ । कतिपय त जटिल अवस्था भएपछि मात्र फर्किने गर्दा उपचारमा ढिला भइसकेको हुन्छ ।
त्यसो त सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई त्यहाँ पुगेर गर्नुपर्ने कामको ट्रेनिङ्ग नदिँदासमेत समस्या देखिएको छ । विदेशमा पुगेर क्षमताभन्दा फरक काम गर्नुपर्दा पनि श्रमिकलाई मानसिकलगायतका समस्या देखिएको छ । सम्बन्धित देशमा बोलिने भाषाको राम्रो ज्ञान नहुँदासमेत श्रमिकहरुले आफ्ना समस्या भन्ने गरेका छैनन् । त्यसले पनि उनीहरुको स्वास्थ्य अवस्था झन् बिग्रने गरेको हो । कतिपयले त बिमाको सदुपयोग गर्न नजान्दा पनि स्वास्थ्य बिगारीरहेका छन् ।
नेपाल र वैदेशिक रोजगारीमा जाने देशको सरकारबीच श्रमिकको स्वास्थ्य परीक्षणमा समन्वय नहुँदा पनि श्रमिकको अवस्था जटिल भएपछि मात्र रोग पत्ता लाग्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यबारे अध्ययन गरेको कार्यदलले ३ महिना लगाएर प्रतिवेदन बुझाए पनि श्रम मन्त्रालयले अझै सार्वजनिक गरेको छैन ।
त्यसो त वैदेशिक रोजगारीमा जानेहरुमा देखिएको स्वास्थ्य समस्याका बारेमा श्रम मन्त्रालय पनि अनभिज्ञ छैन । तर श्रमिकको स्वास्थ्य समस्या समाधान गर्न ठोस पहल भएको छैन । वैदेशिक रोजगार विभाग महानिर्देशक सूर्यबहादुर खत्री भन्नुहुन्छ,' रेगुलर चेक अप गर्ने विषय त कम्पनीको तर्फबाट कामदारलाई हामी रेगुगर चेक अप गर्छौ भन्ने कमिटमेन्ट बनाएर त्यस्को डिमान्डलाई इसु गर्न सकियो भने यो कुरा लागु भइहाल्छ ।'
सरकारको स–सानो हेलचेक्र्याईंका कारण वैदेशिक रोजगारीमा पुगेका श्रमिकहरु विभिन्न समस्यामा पर्ने गरेका छन् । कतिपय त विदेशमै मृत्युवरण गर्न बाध्य छन् । सरकारले श्रमिकको स्वास्थ्य अवस्था सुधार गर्न गठन गरेको कार्यदलले बुझाएको सुझाव तत्काल कार्यान्वयन गर्छ वा विगत अन्य कार्यदलले दिएका सुझाव जस्तै यो पनि थन्किएर बस्छ, त्यो हेर्न बाँकी नै छ ।