दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेपछि सुदूरकाे जित

मंसिर ८, २०८२ |खेल ब्युरो
दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेपछि सुदूरकाे जित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले हराउँदै एनपीएल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। 

एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ रनमा समेटिएपछि सुदूरपश्चिमले पनि लगातार तेस्रो जित दर्ता गरेको हो । जारी एनपीएलमा सय रन पार नगर्ने कर्णाली पहिलो टिम बनेको छ । कर्णालीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । 

कुनै खेलाडीले लामो इनिङ्स खेल्न नसक्दा सुदूरका ब्याटरले ठूलो व्यक्तिगत रन खडा गर्न सकेनन्। जोश ब्राउनलाई सोमपाल कामीले शून्यमा बोल्ड गरे। विनोद भण्डारी ११ र क्रिस लिन १८ रनमा आउट भए । १८ वर्षका युवराज खत्रीले क्रिसको क्याच बोसिस्टोलाई थमाएका थिए । 

१७ वर्षका विपिनले विनोदलाई एलबीडल्यू धरापमा पारे। आरिफ शेखले विकेट टिकाएर खेल्न चाहेको भए पनि २७ रनमा आउट भए । इशान पाण्डेले २ रन मात्रै बनाउन सके । दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान गरेर आफ्नो टोलीको इनिङ निर्माणमा ठूलो सहयोग गरेका थिए। 

उनले एक चौका र दुई छक्का प्रहार गरे। हरमित सिंह १९ रन र स्कट कुगेलाईन १० रनमा आउट भएपछि कर्णालीले मध्यम लक्ष्य पाएको हो। सोमपाल कामीले शीर्ष, मध्य र तल्लो क्रममा एक-एक विकेट लिएका थिए । नन्दनको नाममा दुई तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीका नाममा एक-एक विकेट रह्यो।

जवाफमा कर्णालीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएको हो। ओपनर प्रियंक पञ्चाल शून्य, तेस्रो नम्बरका विलियम बोसिस्टो तीन र चौथो नम्बरका नजिबुल्लाह जद्रान एक रनमा आउट भएका थिए । तीन विकेट गुमाउँदा नै कर्णाली २३ रन मात्रै बनाएको कमजोर अवस्थामा थियो। 

दीपेन्द्रले शीर्ष चार मध्येका प्रियांक, मार्क वाट र जद्रानलाई आउट गराएर सुदूरपश्चिमलाई ब्रेकथ्रु मात्रै दिलाएनन कर्णालीलाई दबाबमा पनि राखे। मार्क १७ रनमा आउट भए । त्यसपछि पवन सर्राफ र सोमपाल कामीले इनिङ सम्हाल्ने प्रयास गरे पनि यो साझेदारी ३४ रनमै टुट्यो । हरमित सिंहले सोमपाललाई १४ रनमा आउट गरे। पवनले २७ रन जोड्दा गुल्सन झा १३ रन बनाएर बोल्ड भए ।

४ ओभर बलिङ गरेका दीपेन्द्रले २३ रन खर्चिएर चार विकेट हात पारेका थिए । हरमित र अभिनाष बोहराले दुई-दुई विकेट लिएका थिए। यससँगै सुदूरले विराटनगरसँगको अंक बराबरी गरेको छ। सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमान्डुलाई २९ र दोस्रो खेलमा पोखरालाई १८ रनमा हराएको थियो। कर्णालीको भने यो दोस्रो हार हो ।