जाडोसँगै बढ्यो वायु प्रदूषण

मंसिर ११, २०८१ |कृपाल गौतम
जाडोसँगै बढ्यो वायु प्रदूषण

काठमाडौं । जाडो बढेसँगै देशभर वायु प्रदूषण पनि बढ्न थालेको छ । छिमेकी मुलुकमा उत्पन्न प्रदूषणको असरका साथै नेपाल मै पनि सवारीसाधनको धुवाँ, डढेलो, कृषि अवशेष जलाउनेलगायतका कारण प्रदूषण बढ्न थालेको वातावरण विभागले जनाएको छ । चिकित्सकहरुका अनुसार वायु प्रदूषण बढ्दा मानव स्वास्थ्यमा समेत असर पर्छ ।

सामान्यतया वायु गुणस्तर सूचकांक-एक्यूआई ५० भन्दा कमलाई राम्रो मानिन्छ । १ सयसम्मलाई औसत र त्यसभन्दा माथि अस्वस्थकर हुँदै जान्छ । वन तथा वातावरण विभागका अनुसार यो वर्ष जाडो सुरुभएसँगै देशका विभिन्न भागहरुको वायू गुणस्तर सुचकांक १ सय ७० सम्म पुगिसकेको छ ।

२०७७ पुस २१ गते काठमाडौको रत्नपार्कमा अहिलेसम्मकै धेरै अर्थात् ४ सय २० एक्यूआई पुगेको थियो । यसरी वायु प्रदूषण हुनुका बाह्य तथा आन्तरिक कारण छन् । भारत, पाकिस्तानलगायतका देशमा उत्पन्न प्रदूषणको असर नेपालसम्म आइपुग्छ भने नेपालमै पनि कृषि अवशेष जलाउने, सवारी साधनको धुवाँ, डढेलो, दाउरा-गुइँठा बाल्नेलगायतका कारण प्रदूषण बढ्ने गरेको छ ।

यस्तो प्रदूषणको असर बालबालिका, दीर्घरोगी, गर्भवती लगायतलाई सबैभन्दा बढी हुने गरेको चिकित्सक बताउँछन् । यसले आँखा तथा नाक चिलाउने, छाती ध्यार-ध्यार हुनेदेखि निमोनिया, दम तथा गम्भीर स्वास्थ्य समस्यासम्म निम्त्याउन सक्छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजारको मृत्यु हुने गरेको छ ।

वन तथा वातावरण विभागका अनुसार चिसो बढ्ने क्रम जारी रहेकाले वायु प्रदूषण अझ उच्च हुने सम्भावना छ । यसकारण स्वास्थ्यमा सतर्कता अपनाउन जरुरी रहेको चिकित्सकको भनाइ छ । 


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement