स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन सरकार अलमलमा छः मन्त्री पौडेल

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन सरकार अलमलमा छः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन सरकार अलमलमा रहेको बताउनुभएको छ ।

मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एक लाखको बीमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की ? भन्ने संशय सरकारसँग रहेको बताउनु भयो ।

उहाँले सरकारलाई मन्त्रालयको तर्फबाट आफूले श्रोत सुनिश्चितताका लागि आवश्यक प्रश्ताव र योजना पनि दिएको जानकारी दिनुभयो । उहाँले बीमालाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले चिनीजन्य पदार्थ बढी भएका उत्पादनहरुमा सुगर ट्याक्स लगाउनुपर्ने र त्यसबाट आएको कर बीमा बोर्डमा जाने व्यवस्था गरिनुपर्ने बताउनु भयो । राज्यले स्वास्थ्य कर १२ अर्ब लिने गरेको भएपनि स्वास्थ्य मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिइएको भन्दै उक्त कर सम्पूर्ण रुपमा बीमा बोर्डमा जाने व्यवस्था हुनुपर्ने बताउनु भयो ।

शिक्षण अस्पतालमा सुविधाका शिर्षक र बीमाको गरेर ६२ करोड रुपैयाँ सरकारले दिन बाँकी रहेको भन्दै अस्पताल सञ्चालनका लागि तत्काल दिनुपर्ने अवस्था रहेको बताउनु भयो ।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई ५० प्रतिशत भुक्तानीको प्रक्रिया पूरा गरिसकेको र अर्थ मन्त्रालयमा पुगेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement