हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन : स्वास्थ्यमन्त्री पौडेल

भाद्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मनसुनको समयमा देखिने हैजाको हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिम कार्कीले हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथिको ध्यानाकर्षणपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नभए पनि संयम हुनुपर्ने स्थिति भने रहेको बताउनु भयो ।

उहाँले हैजा, डेंगी लगायतका जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सामुहिक र सामन्वयात्मक प्रयास गर्ने गरी निर्णय गरी अघि बढेको पनि बताउनु भयो । उहाँले हैजा प्रभावित क्षेत्रका द्रुत सूचना, जनचेतना अभिवृद्धि लगायतका क्रियाकलाहरु प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वयमा कार्य भइरहेको जानकारी दिनुभयो ।

‘हैजा, डेंगी लगायतका जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सामुहिक र सामन्वयात्मक प्रयास गर्नेगरी निर्णय गरी अघि बढेका छौँ,' उहाँले भन्नुभयो, 'हैजा प्रभावित क्षेत्रका द्रुत सूचना, जनचेतना अभिवृद्धि लगायतका क्रियाकलाहरु प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वयमा कार्य भइरहेको छ । वर्षा याममा देशभर हैजाको जोखिम रहे पनि नयाँ बिरामी नभएको तथा उपचाररत ४ जना मात्रै रहेको व्यहोरा अनुरोध गर्दछु । यसअर्थ नेपालमा मनसुनको समयमा देखिने हैजाको हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नभएपनि संयम हुनुपर्ने स्थिति अवश्य छ ।'

उहाँले काठमाडौं उपत्यकाका स्थानीय सरकार प्रमुखसँग हैजा, डेंगी लगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदम चाल्नका लागि सहकार्य गरिरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement