स्वास्थ्य सेवाको हब मानिएको रुपन्देहीमै मातृ मृत्युदर उच्च

दुर्गम र ग्रामीण भेगभन्दा सहरी क्षेत्रमा आमाको मृत्यु बढी
श्रावण १९, २०८१ |भुवन पाण्डे
स्वास्थ्य सेवाको हब मानिएको रुपन्देहीमै मातृ मृत्युदर उच्च

रुपन्देही । सात वटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्युदर उच्च छ । लुम्बिनी प्रदेशमा प्रति एक लाख सुत्केरीमा २ सय ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । मातृ मृत्यु दर रोक्न लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाए पनि कमी आउन सकेको छैन । दुर्गम र ग्रामीण भेगमा भन्दा स्वास्थ्य संस्थाको सहज पहुँच भएकै सहरी क्षेत्रमा आमाको मृत्यु बढी हुने गरेको देखिन्छ ।

विशेषज्ञ चिकित्सकसहित थुप्रै स्तरीय अस्पताल भएको रुपन्देहीलाई स्वास्थ्यको हबका रूपमा चिनिन्छ । तर, रुपन्देहीकै अस्पतालमा गत आर्थिक वर्षमा २३ जना सुत्केरीको उपचारका क्रममा मृत्यु भयो । गतबुधबार राति पनि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कपिलवस्तुकी ३४  वर्षीया सुत्केरी सिर्जना पौडेलको मृत्यु भयो । सुरुमा ओम महिला तथा बाल अस्पतालमा भर्ना गरिएकी सिर्जनाले शल्यक्रियापछि शिशु जन्माए पनि स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । सफल शल्यक्रिया गरिए पनि अस्पतालको हेलचेक्र्याइँका कारण सुत्केरीको मृत्यु भएको आरोप पीडित पक्षले लगाएको छ ।

अस्पतालले भने सिर्जनाको मृत्यु प्रसूतिका कारण नभएको दाबी गरेको छ । बिरामीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्दा प्लेटलेट्स ३५ हजारभन्दा तल थियो । कुनै भाइरल संक्रमणले बिरामीको बहुअंगले एकैचोटी काम गर्न छाडेको चिकित्सकको भनाइ छ ।

तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा एक लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाएको देखिन्छ । अस्पतालमा हुने मातृ मृत्युको दर सरकारी अस्पतालमा भन्दा निजीमा बढी छ । तालिम प्राप्त प्रसूतिकर्मीको अभाव, बिरामीको उपचार गर्ने क्षमतामा कमी हुँदा पनि भर्ना गर्ने अस्पतालहरूको होडबाजी र जटिल समस्या देखिएपछि मात्र रेफर गर्ने प्रवृत्तिले निजीमा मातृ मृत्युदर बढी हुने गरेको हो ।

सरकारले मातृ मृत्युदर कम गर्न रणनीतिक योजना बनाएर काम गरिरहेको बताए पनि आमाहरूको मृत्यु नरोकिएकाले सरकारी योजना नै निस्प्रभावी त बनिरहेको छैन भन्ने प्रश्न उब्जिएको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।