न्यूजिल्यान्डविरुद्धको ओडिआई सिरिजमा श्रीलंकाको जित

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्यूजिल्यान्डविरुद्धको ओडिआई सिरिजमा श्रीलंकाको जित

काठमाडौं । श्रीलंकाले १२ वर्षपछि न्यूजिल्यान्डविरुद्धको ओडिआई सिरिज जितेको छ । वर्षाले प्रभावित दोस्रो ओडिआईमा घरेलु टोलीले न्यूजिल्यान्डलाई डि एल एस मेथडमा ३ विकेटले पराजित गरेको हो ।

पाल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर श्रीलङकाले फिल्डिङ गर्ने निर्णय लियो । वर्षाका कारण ४७ ओभरमा झारिएको खेलमा न्यूजिल्यान्डले ४५ दशमबल एक ओभरमा सबै विकेट गुमाएर २ सय ९ रनको योगफल बनायो ।

टिम रविन्सनलाई ४ र र हेन्री निकलसलाई ८ रनमा आउट गर्दै श्रीलङकाले राम्रो सुरुवात गरेको थियो । विल यङ २६ रनमा बाहिरिए । मार्क च्यापमनले ७६ र मिचेल हे ले ४९ रन जोडेपछि न्यूजिल्यान्डले प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो ।

माहिस थिक्साना र जेफ्री वान्डरसेले ३/३ तथा आसिथा फर्नान्डोले २ विकेट लिए । दुनिथ वेलालागे र चारिथ आसालान्काको नाममा १/१ विकेट रह्यो । जवाफमा श्रीलंकाले ६ बल बाँकी हुँदा सात विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो।

श्रीलंका ९३ रन पाँच विकेटको नाजुक स्थितीमा पुगेको थियो । आभिस्का फर्नान्डो ५ र पाथुम निसान्का २८ रनमा आउट हुँदा कामिन्डु मेन्डिसले खाता खोल्न सकेनन् । कप्तान आसालांकाले १३ रन मात्र जोडे । तर कुशल मेन्डिसले अविजीत ७४ रनको योगदान गरेपछि श्रीलंकाले तीन खेलको सिरिजमा २-० को अग्रता बनाएको हो ।

मिचेल ब्रेसवेलले ४ विकेट लिए । श्रीलङकाले पछिल्लो पटक सन २०१२ मा न्यूजिल्यान्ड सँगको ओडिआई सिरिज जितेको थियो । २०२४ मा श्रीलङकाले जितेको यो पाँचौ द्दिपक्षिय सिरिज हो । तेस्रो ओडिआई भोलि हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.