काठमाडौं । यानिक सिनर एटीपी फाइनल्सको उपाधि जित्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।
विश्व नम्बर एक सिनरले फाइनलमा अमेरिकाका टेलर फ्रिट्जलाई सोझो सेटमा पराजित गरेका हुन् ।
ट्युरिनमा भएको उपाधि भिडन्तमा घरेलु खेलाडी सिनरले शानदार प्रदर्शन गरे । २३ वर्षीय सिनरले पहिलो सेट ६-४ ले जितेका थिए । उच्च र्फममा रहेका सिनरविरुद्ध फ्रिट्जले दोस्रो सेटमा पनि पुनरागमन गर्न सकेनन् । ६-४ ले नै दोस्रो सेट पनि आफ्नो पक्षमा पार्दै सिनर पहिलो पटक घरेलु कोर्टमा च्याम्पियन बने ।
अघिल्लो वर्षको फाइनलमा उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए । सन २०२४ मा करियरको दुई ग्रान्डस्लाम अस्ट्रेलियन र युएस ओपन जितेका सिनरले, इटालीमा उपाधि हात पार्नु विशेष रहेको प्रतिक्रिया दिए । उनले फाइनल जित्दासम्म एक सेट पनि गुमाएनन् ।
१९८६ यता सेट नगुमाई एटीपी फाइनल्स जित्ने सिनर पहिलो खेलाडी बनेका छन् । यसै वर्ष डोपिङ विवादका कारण उनको करियर अनिश्चित बन्ने संकेत थियो । तर, उत्कृष्ट पुनरागमन गरेका सिनरले पछिल्ला २७ मध्ये २६ खेलमा जित हात पारेका छन् । यता फ्रिट्जले भने १९९९ पछि अमेरिकालाई एटीपी फाइनल्स उपाधि जिताउने अवसर गुमाए ।
करियरको अहिलेसम्मकै उच्च वरियता दोस्रो स्थानमा उक्लिएका फ्रिट्जले युएस ओपनको फाइनलमा पनि सिनरसँगै हार बेहोरेका थिए । २००६ पछि एटीपी फाइनल्स खेल्ने फ्रिट्ज पहिलो अमेरिकी खेलाडी हुन् ।