नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृ निकाय

सित्तैमा पाएपछि आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप पुन: ल्याइँदै
असार २५, २०८१ |कृपाल गौतम
नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृ निकाय

काठमाडौं । विगतमा ल्याएका कोभिडका खोप प्रयोग नभएर खेर गएपछि त्यसलाई कसरी डिस्पोज गर्ने स्वास्थ्य मन्त्रालयको टाउको दुखाइ छ । तर यही बेलामा आवश्यकता नै नपरेको थप खोप सरकारले ल्याउन थालेको छ ।

कोभिडको जोखिम अन्त्य जस्तै भइसकेको अवस्थामा अहिले नेपालले अनुदानमा १६ लाखभन्दा बढी मात्रा खोप ल्याउन सुरु गरेको छ । सित्तैमा प्राप्त भयो भन्दैमा समय घर्कीसकेपछि आएको सामान लिइहाल्ने हाम्रो प्रवृत्तिले स्वास्थ्य सामग्रीमा हामी डम्पिङ साइट वा प्रयोगशाला बनिरहेका त छैनौं ?

अहिले नेपालमा खेर गएको ४० लाख डोज खोप छ । यो खोप कसरी डिस्पोज गर्ने भनेर सोच्नुपर्ने अवस्था छ । तर यही बेला दाताहरुले अनुदानमा आवश्यकै नभएको खोप दिएका छन् । र यसको उपयोग कसरी गर्ने भन्ने योजना सरकारसँग छैन ।

अहिले नेपालमा कोभिडको जोखिम छैन । फाट्टफुट्ट कोभिड देखिए पनि साधारण लक्षण देखिएर निको हुने गरेको छ । नेपालमा अहिलेसम्म खरिद तथा अनुदान गरी ६ करोड ७७ लाख मात्रा कोभिडविरुद्धको खोप आइसकेको छ र हामीकहाँ खोप धेरैले लाइसकेका छन् । यसकारण जोखिम पनि कम छ । तर यही असार १६ गते यता ११ लाख १६० डोज कोभिडविरुद्धको खोप आएको छ । अबको केही दिनमा थप पाँच लाखभन्दा बढी मात्रा खोप आउँदै छ । सरकारले यो खोप भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स गाभीमार्फत अनुदानमा पाएको हो ।

अहिले अनुदानमा पाएका खोप कसले लगाउँछन् र सरकारले कसलाई दिन्छ भन्ने मुख्य प्रश्न हो । यस सम्बन्धमा सरकारले अहिलेसम्म कुनै योजना नै बनाएको छैन । ‘प्राथमिकताका आधारमा र माग आइसकेपछि त्यसको हामी निर्णय गर्छौं ।

अहिले सम्मको अवस्था हेर्दा प्राथमिकतामा परेका वर्गहरुलाई दिने र कोही व्यक्तिले अन्य मात्रा लगाउन छुट्नुभएको छ भने बुस्टर डोज लगाउन छुट्नुभएको छ अथवा कोही शून्य मात्रामा हुनुहुन्छ भने उहाँहरुलाई हामीले सधैं खुला गरेको हो । र कसरी गर्ने भन्नेमा डिमान्ड आइसकेपछि पछि जानकारी गराउछौं,’ स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले भन्नुभयो ।

खोप तत्कालै आवश्यक छैन । तर सरकारले ल्याइसकेको छ र अब बल्ल यसलाई कसरी उपयोग गर्ने भन्ने योजना बनाउँदै छ । खोपको व्यापक अभाव भएका समयमा गाभीले अनुदान दिन्छु भनेर प्रतिबद्धता गरेअनुरुप नै अहिले खोप आइरहेको हो । यो खोप त्यतिबेला आवश्यक थियो होला तर अहिले आवश्यक छैन र हामीसँग उपयोग गर्ने योजना पनि छैन । ‘कोभिड सुरु भएका बेला खोपको व्यापक अभाव थियो । पछि गाभीले अनुदानतर्फ हामीले यति-यति खोप दिन्छौं भनेर त्यतिबेला नै निर्णय भइसकेका आधारमा त्यो आउने क्रम अझै पनि छ,’ स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा निर्देशक डा. श्रवण थापाले भन्नुभयो ।

यसकारण प्रश्न उठ्छ- के दाताहरुले हामीलाई खोपको डम्पिङसाइट बनाइरहेका छन् वा नयाँ नयाँ खोपको प्रयोगशाला बनाइरहेका छन् ? अहिलेसम्म नेपालले प्राप्त गरेको खोपमध्ये २९ लाख डोज खेर गएको छ ।

यसमध्ये कति म्याद गुज्रेर र कति खोलिसकिएपछि निश्चित अवधिसम्ममा लगाउन नआएको लगायतका कारण खेर गएको हो । त्यसबाहेक पहिलो र दोस्रो मात्रा मात्र लगाउन मिल्ने साइनोभ्याकको ४० लाख मात्र खोप म्याद गुज्रेर सरकार कसरी डिस्पोज गर्ने भन्ने चिन्तामा छ ।

जानकार भने जोखिमका आधारमा हेर्दा कोभिडविरुद्धको खोप वर्षैपिच्छे दिइरहेको राम्रै हुने बताउँछन् तर अहिले जोखिमै नभएको अवस्थामा कसले खोप लगाउन आउँछ भन्ने चुनौती देखिएको हो । ‘खोप ल्याउनु राम्रो हो, तर त्योभन्दा अगाडि हामीले गर्नुपर्ने पूर्वतयारीमा ध्यान दिन आवश्यक छ । साइड इफेक्टबारे रिसर्चको प्रोटोकल पनि पहिले बनाउनुपर्थ्यो,’ संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउनुहुन्छ ।

अहिले आएको कोभिडविरुद्धको खोप अनुदानकै भए पनि सरकारले आफूलाई के आवश्यक छ र के छैन भन्ने कुरा छुट्ट्याउन र नचाहिने भए दातृ निकायलाई समयमै खबर गर्न नसकेका कारण अनावश्यक खोप थुप्रिरहेको छ । जुन पछि उपयोग हुनुको सट्टा खेर जाने र डिस्पोज गर्न नै तनाव हुने तथा श्रम, शक्ति र पैसा त्यसैमा खर्च हुन सक्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।