मनमोहन कार्डियो सेन्टरमा अनियमितता, उच्च तहकै मिलेमतो

औषधि र स्वास्थ्य सामग्रीमा भएको करोडौं भ्रष्टाचारमाथि त्रिविले थाल्यो थप छानबिन
जेष्ठ १९, २०८१ |प्रकाश बम
मनमोहन कार्डियो सेन्टरमा अनियमितता, उच्च तहकै मिलेमतो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा औषधि तथा स्वास्थ्य सामग्रीमा करोडौं भ्रष्टाचार हुने गरेको थप तथ्य फेला परेका छन् ।

त्रिभुवन विश्वविद्यालयले गरेको छानबिनले सेन्टरमा उच्च तहकै मिलेमतोमा अनियमितता भएको देखाएको हो । प्रतिवेदन प्राप्त भएपछि त्रिभुवन विश्वविद्यालयले पनि अझ विस्तृत रुपमा छानबिन अघि बढाएको छ ।

त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीमा लाखौं रुपैयाँबराबरको औषधिमा भ्रष्टाचार भएको रिपोर्ट हामीले केही समयअघि प्रसारण गरेका थियौं । तर सेन्टरमा हुने भ्रष्टाचार र अनियमितता यतिमा मात्र सीमित छैन, औषधि, स्वास्थ्य सामग्री र पेस्की रकममा करोडौंको भ्रष्टाचार हुँदै आएको तथ्य हामीले फेला पारेका छौं ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आर्थिक अनिमियतता हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि त्रिवि रजिस्ट्रारको कार्यालयले आर्थिक विभागका पूर्वप्रमुख नारायणबहादुर बस्नेतको नेतृत्वमा गत वर्ष ३ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले सेन्टरमा ०७९/८० मा भएका कारबाहीको अनुसन्धान गरी २९ पेज लामो प्रतिवेदन तयार पारेको छ ।

समितिले कार्यादेशअनुसार ६ महिना अवधिमा अस्पतालका २८ वटा फाइल अध्ययन गर्यो, जसमा २८ वटा कैफियत देखिए । प्रतिवेदनले दुई करोड ४० लाख ६८ हजार ६ सय ९४ रुपैयाँबराबरको म्याद समाप्त भएको ४३४ थरी औषधि फार्मेसीको स्टोरमा भएको गम्भीर तथ्य औंल्याएको छ । तर, ती औषधि अस्पतालमा प्रयोग भए/नभएको, बिरामीलाई दिइएको/नदिइएको भन्नेबारे भने प्रतिवेदनमा उल्लेख छैन । जबकि फार्मेसी निर्देशिकाअनुसार म्याद गुज्रेका औषधि ३ महिनाभित्रै फिर्ता गर्नुपर्ने हुन्छ । तर, अस्पतालका उच्च तहकै मिलेमतोका कारण ती औषधि फिर्ता गरिएनन् । जसको पुष्टि छानबिन समितिका सदस्यहरुले गरेका छन् । तर, उनीहरु क्यामेराअगाडि बोल्न चाहदैनन् ।

समितिका एक सदस्य भन्छन्- ‘सिरिन्ज, ट्याब्लेटजस्ता औषधि म्याद गुज्रेको अवस्थामा छन्, नियमअनुसार ती औषधि फिर्ता गरिएका छैनन् । किनकि सप्लायर्ससँग अस्पतालकै आर्थिक लेनदेन र मिलमेतो छ ।’

जसमा फार्मेसीको पेस्की शीर्षकमा दुई करोड ४१ लाख ३२ हजार ६५ रुपैयाँ भूकम्पपीडित बिरामीबाट उठ्न बाँकी देखाइएको छ । तर, यो रकम कस्तो खालको हो, भूकम्पपीडित बिरामीबाट उठ्न बाँकी भनेर के भन्न खोजिएको हो ? कोबाट उठ्न बाँकी भनेर केही पनि खुल्दैन ।

त्यति मात्र होइन, पेस्की विवरणमा व्यक्ति तथा संस्थाको नाम उल्लेख हुनुपर्ने हो । तर, आर्थिक वर्ष ०७८/७९ को पेस्की विवरणमा स्वास्थ्य सामग्रीको नाम लेखिएको छ । पेसेन्ट बेड लिफ्टका नाममा ७६ लाख १६ हजार ६८०, एनेस्थेसिया मेसिनका नाममा १० हजार २३३ र मोनिटर आईसीयूका नाममा तीन हजार ६९८ उल्लेख छ । अझ ११ करोड ४६ लाख ७२ हजार पाँच सय रुपैयाँको त शीर्षक नै स्पष्ट छैन ।

छानबिन समितिका सदस्यहरुका अनुसार समितिसमक्ष अस्पतालका अधिकारीहरुले कुनै पनि प्रमाण देखाउन सकेनन् । यो रकम बराबरको पेस्की विगतकै निरन्तरता भएको दाबी अस्पतालका अधिकारीहरुले छानबिन समितिसमक्ष गरेका छन् । यसबाट पनि अस्पतालमा लामो समयदेखि भ्रष्टाचार भएको तथ्यको संकेत गर्छ ।

छानबिन समितिका सदस्यहरुका अनुसार प्रतिवेदनमा औंल्याइएका तथ्य त भ्रष्टाचारको सानो अंश मात्र हो, योभन्दा पनि बढी अनियमितता भएको आशंका समितिले गरेको छ । प्रतिवेदन प्राप्त भएपछि त्रिविले दायरा अझ फराकिलो पार्दै विस्तृत रुपमा छानबिन अघि बढाइसकेको रजिस्ट्रार केदार रिजाल बताउनुहुन्छ ।

‘प्रारम्भिक अध्ययन प्रतिवेदनमा केही निश्चित समयको कारोबार हेर्दा अनियमतिताको संकेत देखियो । आन्तरिक लेखापरीक्षणलाई त्योभन्दा बढी दुई वर्षको लेखाजोखा हेर्न निर्देशन दिइएको छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ भएका अनियमितता र कमजोरीलाई समग्रतामा हेरेर मात्रै कारबाही प्रक्रियामा जानुपर्छ । मसँग आएको जानकारी र एक-दुईवटा छलफल गर्दा त्यसको गम्भीरता त छ, को-को संलग्न छन् भनेर समग्रतामा जाउँ भन्दै दायरा बढाएर जाने भनिएको छ ।’

यस्तै, बिरामीले प्रयोग गरिसकेको स्वास्थ्य सामग्री फिर्ता भएको देखाएरसमेत पटक-पटक अनियमितता भएको पाइएका छन् । २०७९ वैशाख १२ गते एक बिरामीलाई मेकानिकल हर्ट भल्भ बिक्री गरिएको थियो । तर, कृष्ण नाम गरेका कर्मचारीले त्यसको १२ महिनापछि फार्मेसीको सिस्टममा गएर उक्त सामान फिर्ता भएको देखाए ।

त्यसपछि सामान बापतको रकम मिलेमतो गरेर बाँडेर खान्छन् । छानबिन समितिले सोही बिरामीको फाइल अनुसन्धान गर्दा हार्ट भल्भ प्रयोग भएको देखियो । यसमा संलग्न कर्मचारी कृष्णले समितिलाई दिएको बयानमा आफूले गल्ती गरेको भन्दै उक्त रकम फिर्ता गर्ने र आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने वाचा गरेका छन् । यसरी प्राप्त तथ्यहरुले स्पष्ट पारेका छन् कि- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चरम भ्रष्टाचारले जरा गाडिसकेको छ । जहाँ फार्मेसीदेखि उच्च तहसम्मकै मिलेमतो छ ।

विशेषगरी, कोरोना महामारीको मौका छोपेर स्वास्थ्य सामग्री, उपकरण र औषधिमा व्यापक भ्रष्टाचार भएको त्रिविकै अधिकारीहरु बताउँछन् । यहाँ भइरहेको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष नै उजुरी दर्ता भएको थियो । अख्तियारले यो विषयमा छानबिन गरिरहे पनि थप जानकारी दिन नमिल्ने जनाएको छ ।

हेर्नुहोस् प्रकाश बमका थप स्टोरी ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।