स्वास्थ्य क्षेत्रको दीर्घरोग : पढेकालाई काम छैन, काम दिन ठाम छैन

सरकारले आफैंलाई चाहिने जनशक्ति भर्ना गर्न सकेन
चैत्र १३, २०८० |नारायण किलम्बू
स्वास्थ्य क्षेत्रको दीर्घरोग : पढेकालाई काम छैन, काम दिन ठाम छैन

काठमाडौं । नेपालमा बर्सेनि हजारौंको संख्यामा डाक्टर, नर्स र अन्य स्वास्थ्य जनशक्ति उत्पादन हुन्छ । तर नेपालकै स्वास्थ्य संस्थामा भने सधैं जनशक्ति अभाव रहेको गुनासो सुनिन्छ । ९० वटा शिक्षण संस्थाबाट चिकित्सा शिक्षाका प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्ममा विभिन्न कार्यक्रमबाट बर्सेनि १२ हजार स्वास्थ्यका जनशक्ति उत्पादन भए पनि सरकारले आफैंलाई चाहिने जनशक्ति भर्ना गर्न सकेको छैन ।

देशभरिका ९० वटा शिक्षण संस्थामा हरेक वर्ष स्नातक, स्नातकोत्तर तह र त्यसभन्दामाथिका मेडिकल, नर्सिङ, फार्मेसी, पारामेडिकल, आयुर्वेदलगायतमा गरी वर्षमा ६ हजार ५ सय हाराहारीमा विद्यार्थी भर्ना हुन्छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका २८५ वटा शिक्षण संस्थामा ११ विधामा प्रमाणपत्र तहको पढाइ हुन्छ । यसबाट बर्सेनि ५ हजार ५ सयको हाराहारीमा जनशक्ति उत्पादन भइरहेको छ । चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोग उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाका अनुसार प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्म गरी बर्सेनि १२ हजार जनशक्ति उत्पादन हुन्छ ।

नेपाल मेडिकल काउन्सिलमा अहिलेसम्म एमबीबीएसमा ३० हजार, बीडीएसमा चार हजार ८८३ जना चिकित्सक दर्ता छन् । विशेषज्ञ चिकित्सकको संख्या भने १० हजार ५८८ छ । यसैगरी नेपाल नर्सिङ काउन्सिलमा अनमीदेखि विशेषज्ञ नर्ससम्म्मका एक लाख पाँच हजार जनशक्ति दर्ता छन् । यीमध्ये कति नेपालमा छन् भने यकिन तथ्यांक कसैसँग छैन । यस्तै आयुर्वेदतर्फ पाँच हजार ६१४ जनशक्ति छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌मा एक लाख ३७ हजार ६८३ जनशक्ति दर्ता देखिन्छ ।

आयोगका अनुसार ०७७/७८ देखि २०८० फागुनसम्ममा एमबीबीएस अध्ययनका लागि एक हजार ६७२ र विशेषज्ञ चिकित्सक अध्ययनका लागि ५९२ तथा नर्सिङमा ३५० ले वैदेशिक अध्ययनको अनुमति लिएका छन् । मुलुकका लागि अहिले ६३ हजार २२५ स्वास्थ्य जनशक्ति आवश्यक रहेको प्रक्षेपण आयोगले गरेको छ ।

तथ्यांक हेर्दा शिक्षण संस्थाहरुले आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन त गरिरहेका छन् तर, सरकारले भने व्यवस्थापन गर्न सकिरहेको छैन ।

यो पनि...

‘प्रधानमन्त्रीज्यू, डाक्टरहरु विदेश नगएर के गर्ने ?’


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement