‘सुरुमै उपचार थाले क्षयरोग निको हुन्छ’

विश्व क्षयरोग दिवस : सामाजिक हेय भावले क्षयरोग निर्मूल हुन सकेन
चैत्र ११, २०८० |माधव अर्याल
‘सुरुमै उपचार थाले क्षयरोग निको हुन्छ’
पाल्पाको तानसेनमा लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत विद्यार्थीहरुको संस्था नेपाल मेडिकल स्टुडेन्टस् सोसाइटीले तानसेन बजारमा निकालेको र्‍यालीका सहभागी । तस्बिर : माधव अर्याल/कान्तिपुर टेलिभिजन

पाल्पा । आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस । ‘हामी क्षयरोगलाई अन्त्य गर्छौं’ भन्ने नाराका साथ क्षयरोगलाई अन्त्य गर्न हामी सबै प्रतिबद्ध छौं भन्ने सन्देश विश्वभर फैलाइँदै छ । फागु पूर्णिमा र बिदाको दिन परेकाले सरकारी कार्यालयका कार्यक्रम भने भएका छैनन् ।

हुन त सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले संसारकै प्रमुख जनस्वास्थ्य समस्याका रुपमा घोषणा गरेको थियो । नेपाल सरकारले पनि क्षयरोग नियन्त्रण गर्न नयाँ रणनीति अवलम्बन गर्ने कुरामा जोड दिँदै आएको छ । नेपालमा पनि क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेकाले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । स्वास्थ्य कार्यालयमा पाँच लाख र स्थानीय तहमा कम्तीमा दुई लाखका दरले सरकारले बजेट पठाउने गरेको छ । तर प्रभावकारी काम भने हुन सकेको छैन ।

नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सन् १९९६ देखि डट्स (प्रत्यक्ष निगरानीमा औषधि खुवाइने) विधिद्वारा क्षयरोगका बिरामीलाई उपचार गर्ने पद्धति सुरु गरेको उनको भनाइ छ । क्षयरोगको सुरुकै अवस्थामा पत्ता लगाउन नसकिएको र रोगले ग्रस्त बनाएपछि स्वास्थ्य संस्था आउने प्रचलनले मृत्युदर बढेको गिरी बताउँछन् । अहिले पाल्पासहित देशैभर क्षयरोग चुनौतीपूर्ण देखिएको उनले बताए । सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौती देखिएको छ ।

‘सरकारलाई चुनौती भनेकै सामाजिक हेय भावका कारण क्षयरोगी खुल्न नसक्नु हो,’ रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनील अधिकारीले भने, ‘अझै पनि गाउँमा पहिलो स्टेजका क्षयरोगी भेटिएको छैन । जो बिरामी भएर अन्तिममा बल्ल क्षयरोग जाँच गर्छन् ।’ मुलुकभर बर्सेनि करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएको छ । महिलाभन्दा पुरुष बढी जोखिममा छन् । सरकारले क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशिका २०७८ जारी गरेपनि बर्सेनि क्षयरोगका बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।

राजनीतिक दलहरुले क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई सफल बनाउन प्रतिबद्धतासमेत जनाएका हुन् । प्रतिबद्धताअनुरुप दलहरु संवेदनशील नदेखिएकाले लक्ष्य प्राप्ति नभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले क्षयरोग रोकथाममा बजेट खर्च गरे पनि उपलब्धि निराशाजनक छ । बर्सेनि करोडौं बजेट विनियोजन गरिए पनि सो रकम क्षयरोग रोकथाममा भन्दा पनि कार्यक्रम केन्द्रित र औषधिमा मात्रै खर्च हुने भएकाले अभियान प्रभावकारी छैन ।

दुई साताभन्दा बढी समयसम्म खोकी लागिरहने, साँझपख ज्वरो आउने, तौल घट्ने, खकारमा रगत देखापरेपछि मात्र क्षयरोगको शंका गर्दै जचाउने प्रवृत्ति छ । क्षयरोग सुरुमै उपचार थाले निको हुन्छ । तर लापरबाही गरे पुनः दोहोरिने समस्या रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।

सरकारले क्षयरोगीको निःशुल्क उपचारको प्रबन्ध मिलाएको छ । क्षयरोगको जोखिम समूहमा ज्येष्ठ नागरिक, बालबालिका, स्वास्थ्यकर्मी, एचआईभी संक्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती, कैदी तथा बन्दी, अंग-प्रत्यारोपण गरेका व्यक्तिलगायत भएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वराज न्यौपानेले बताए । बिरामी आफैंले वास्तै नगर्ने, स्वास्थ्यकर्मीले जाँगर नचलाउने र पालिकाका जनप्रतिनिधिले प्राथमिकता नदिएर पनि समस्या भएको हो ।

क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म किटाणुबाट हुने सरुवा रोग भएको डा. गिरीले बताए । जसको समयमा परीक्षण गराएर औषधि नियमित खानुपर्छ । तर, क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिँदा रोगको रोकथाममा चुनौती थपिएको उनले बताए । क्षयरोगका बिरामीले लामो अवधिसम्म उपचार केन्द्रमा दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन नगर्ने उनले बताए ।

पाल्पामा पनि क्षयरोगको संक्रमणदर घट्न नसकेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले जनाए । उनका अनुसार पछिल्लो आठ महिनामा २२७ जना क्षयरोगी भेटिएका छन् । अघिल्लो आर्थिक वर्षमा ३३४ जना भेटिएका थिए । प्रत्यक्ष निगरानीमा उपचार हुने गरे पनि अघिल्लो आर्थिक वर्षमा २५ जनाको मृत्यु भएको उनले बताए ।

क्षयरोग लागेका ९५ प्रतिशत रोगी निको भएको दाबी स्वास्थ्य कार्यालयले जनाएको छ । क्षयरोग देखिएपछि नियमित औषधि सेवन नगर्ने र स्वास्थ्य जाँच गर्न नआउने बिरामीको मृत्यु भएको हो । क्षयरोग लागेका २२७ मध्ये १३८ जनालाई फोक्सोमा र ७३ जनालाई अन्य भागमा क्षयरोगको जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा क्षयरोगको मृत्युदर ७.३ प्रतिशत रहेको छ ।

०६९/७० मा ४४३, ०७०/७१ मा ४२०, ०७१/७२ मा ३९८, ०७२/७३ मा ३६२, ०७३/७४ मा ३७४ जनामा क्षयरोग देखिएको तथ्यांक अधिकृत पोखरेलले जानकारी दिए । उनका अनुसार ०७४/७५ मा ३९७, ०७५/७६ मा ३५०, ०७६/७७ मा ३०२, ०७७/७८ मा ३३९ र ०७८/७९ मा ३४५ जना क्षयरोगी भेटिएका थिए ।

तथ्यांक हेर्दा पछिल्लो १० वर्षदेखि एउटै दरमा संक्रमण कायम छ । पछिल्ला वर्षमा पुनः संक्रमण बढेको देखिन्छ । जिल्लाका तानसेन, रामपुर र निस्दीमा संक्रमण बढी देखिएको छ । नौ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४५, रामपुरमा ४१, निस्दीमा ३१ क्षयरोगी फेला परेका छन् । यस्तै माथागढीमा २३, रैनादेवी छहरामा २५, पूर्वखोलामा १७, रम्भामा १५, रिब्दीकोटमा १० र तिनाउमा १४ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement