
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएका विध्वंसात्मक घटना छानबिन गर्न गठन भएको उच्चस्तरीय न्यायिक आयोगले काठमाडौं उपत्यकाका ३ जिल्ला, प्रहरी हेडक्वाटर र संसद्मा खटिएका प्रहरीको सूची प्राप्त गरेको छ ।
आयोगले प्रहरी प्रधान कार्यालयसँग फिल्डमा खटिएकाहरुको सूची माग गरेको थियो । तर प्रहरी प्रधान कार्यालयले समयमै विवरण उपलब्ध नगराएको भन्दै पुनः पत्राचार गरेको थियो । सोही अनुसार प्रहरी प्रधान कार्यालयले आज काठमाडौं,भक्तपुर र ललितपुरका साथै प्रहरी हेडक्वाटर र संसद्मा खटिएकाहरुको विवरण पठाएको हो । त्यसैगरी अन्य जिल्लाबाट पनि विवरण आउने क्रममा रहेको आयोगले जनाएको छ । अब आयोगले घटना भएका स्थान प्राथमिकीकरण गरेर बयान लिने जनाएको छ । प्रहरीसँग सोधपुछ र बयानका लागि बोलाउनुपर्ने भएकाले इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न पनि आयोगले पत्राचार गरेको छ ।