आजदेखि देशैभरि दादुरा-रुबेला खोप अभियान सुरु

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
आजदेखि देशैभरि दादुरा-रुबेला खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान सन्चालन गर्दै छ । यो अभियान चैत ७ गतेसम्म जारी रहनेछ ।

खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइनेछ । यस्तै, ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइनेछ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ९ महिनादेखि ५ वर्षमुनिका २१ लाख ३० हजार ६ सय ८३ बालबालिका र ५ वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३ सय १० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७ सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै, ४९ हजार ९ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९ सय ६ जना स्वयम्सेवक परिचालन गरिनेछ । स्वास्थ्य मन्त्रालयले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ-आफ्ना बालबालिकालाई खोप लगाउन आह्वान गरेको छ । मन्त्रालयले खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाएको छ ।

डा. गौतमले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले जिल्लास्तरमा आकस्मिक उपचार टोलीसमेत गठन गरिएको बताए ।

दादुरा-रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप अभियानमा ७ वटा रोग विरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । खोप शाखाका प्रमुख डा. गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताए । ती खोप लगाउन छुटेका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए ।

सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.