क्यान्सरको जोखिममा महिला, पाठेघर र स्तन क्यान्सर बढी

चिकित्सक भन्छन्- समयमै पहिचान भए क्यान्सर निको हुन्छ
नेपालमा बर्सेनि क्यान्सरका २० हजार बिरामी थपिँदै
उपचारमा पालो कुर्नुपर्दा बिरामीलाई थप सास्ती
माघ २१, २०८० |राजु चौधरी
क्यान्सरको जोखिममा महिला, पाठेघर र स्तन क्यान्सर बढी

चितवन । क्यान्सर रोग एउटा जटिल रोग हो । तर सचेत रहने र खानपान तथा जीवनशैलीमा सावधानी अपनाउने हो भने यो रोगबाट बच्न सकिन्छ र रोग लागिहालेमा जित्न पनि सकिन्छ ।

तर, क्यान्सरको उपचार गराउने सीमित स्वास्थ्य संस्था र उपचारका लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाले बिरामीले सास्ती भोग्नुपरेको छ ।

मानिसको शरीरमा हजारौं स-साना कोषिका हुन्छन् । सामान्यत: शरीरभित्रका कोषहरु बढ्ने र उमेर पुगेसँगै झर्ने गर्छन् । तर कोषिकामा कुनै कारणवश खराबी उत्पन्न भयो भने त्यसैका कारण शरीरमा अनियन्त्रित रुपमा गाँठागुठी वा अन्य लक्षण देखिन्छ । त्यसलाई नै क्यान्सर रोग भन्ने गरिन्छ । विगतमा यस्ता समस्या आउँदा मानिसहरु उपचार गराउन नगई घरमै बस्ने गरेका थिए ।

उपचार पनि महँगो हुन्थ्यो । तर पछिल्लो समय मानिसमा विस्तारै बढेको जनचेतनाले बिरामी अस्पताल पुग्ने गरेका छन् । तर अस्पताल पुग्दा पनि समयमै उपचार नपाउँदा भने निराश हुने गरेको कञ्चनपुरबाट आएका बिरामीका आफन्त सफल बुढाको गुनासो छ ।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४ वर्षयता क्यान्सरको उपचार गराउन आउने बिरामीको संख्या बढ्दै गएको देखिएको छ । सन् २०२० मा परीक्षण गराएका ९० हजार ५७१ जनामध्ये चार हजार ६०८ जनामा क्यान्सर रोग देखापरेको थियो । सन् २०२२ मा ओपीडीमा उपचार गराउनेको संख्या एक लाख ६५ हजार नाघ्दा क्यान्सरका बिरामी मात्रै ६ हजार ४४६ पुगेको अस्पतालको तथ्यांक छ । पछिल्लो समय बिरामी समयमै अस्पताल पुग्ने क्रम बढेसँगै बिरामीको संख्या पनि बढेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक डा. उमेश नेपाल बताउँछन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशभित्रका मात्र नभई छिमेकी भारतबाट समेत उपचारका लागि आउने गरेका छन् । तर यहाँको उपचार पद्धति र प्रविधिमा जहिल्यै आउने खराबीले बिरामी हैरान हुने गरेका छन् । लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता छ । कतिपय अवस्थामा कर्मचारीहरुको बदमासीले समेत बिरामी तथा आफन्त समस्यामा पर्ने गरेका छन् ।

क्यान्सर रोग बालकदेखि वृद्धसम्मलाई लाग्छ । चिकित्सकका अनुसार पुरुषमा धेरैजसो फोक्सो, रगत र बोनम्यारोमा क्यान्सर देखिने गरेको छ भने महिलामा पाठेघर, स्तन तथा फोक्सोको क्यान्सर बढी हुने गरेको छ । क्यान्सर रोग खराब खानपिन, रहनसहन, धूमपान, मद्यपानलगायत कारणले हुने गरेको छ । कतिपय अवस्थामा वंशाणुगत कारण पनि यो रोग मानिसमा लाग्ने गरेको छ । यसबाट बच्न जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ ।

यो पनि...

‘१३.९ प्रतिशतमा स्तन र १०.४ प्रतिशतमा फोक्सोको क्यान्सर’


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।