सर्खेत । कर्णाली प्रदेशमा धेरै औषधिजन्य जडीबुटी पाइन्छ । तर सरकारको बेवास्ताका कारण एकातिर जडीबुटी खेर गइरहेको छ भने अर्कातर्फ प्रदेश आर्युवेद अस्पताल तथा अनुसन्धान केन्द्र र औषधालयले दक्ष जनशक्ति र पर्याप्त पूर्वाधार अभावमा प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकेका छैनन् । कतिसम्म भने कर्णालीका ५१ वटा स्थानीय तहमा अझै आयुर्वेद सेवा पुग्न सकेको छैन ।
कर्णालीमा एक सय ४७ भन्दा बढी प्रकारका बहुमूल्य जडीबुटीहरु पाइन्छन् । तीमध्ये अधिकांश औषधिजन्य जडीबुटीहरु हुन् । यिनै औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरु सञ्चालन गरेका छन् । दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा दिँदै आएको छ । तर कर्णाली प्रदेश सरकारले यी संरचनाहरुको व्यस्थापन गर्न नसक्दा प्रभावकारी रुपमा सेवा प्रवाह भने हुन नसकेको सेवाग्राही कमलप्रसाद आचार्यले गुनासो गरे ।
वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पूर्वाधार र जनशक्तिको चरम अभाव छ । २६ जनाको दरबन्दी रहेको आयुर्वेद अस्पताल एक जना चिकित्सकसहित १२ जना मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् । जनशक्ति अभावकै कारण ३० शैय्याको प्रदेश आयुर्वेद अस्पतालले सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न सकेको छैन । सोही मातहतमा रहेको अनुसन्धान केन्द्रका लागि पनि भवन, जनशक्ति र जडीबुटी प्रशोधनका लागि मेसिनहरु छैनन् ।

केन्द्रका चिकित्सक शंकरप्रसाद रिजालले भने, ‘जनशक्ति स्थायीरुपमा भयो भने हामीले काम लिन र दिन कुनै समस्या छैन । यस्तै भौतिक संरचनाको पनि ठूलो समस्या छ । भइरहेका संरचना अपुग भएकाले सेवा प्रवाहमा हामीलाई कठिन भइरहेको छ ।’
सरकारले आयुर्वेद स्वास्थ्य क्षेत्रलाई बेवास्ता गरे पनि आयुर्वेद उपचारमा निर्भर रहने बिरामी कर्णालीमा धेरै छन् । आर्थिक वर्ष २०७९/०८० मा प्रदेश आयुर्वेद अस्पतालबाट मात्र ९१ हजार ४ सय १५ जना बिरामीले सेवा लिएका छन् । आयुर्वेद उपचारका लागि कर्णाली प्रदेशमा एउटा अस्पताल, ९ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु, १८ वटा आयुर्वेद औषधालय र ४३ वटा नागरिक आरोग्य सेवा केन्द्रहरु छन् । तर अस्पतालको सेवा विस्तार र व्यवस्थित गर्नतर्फ भने प्रदेश सरकारले ध्यान दिन सकेको छैन ।
कर्णाली प्रदेश सदस्य देवेन्द्र शाहीले अगाडि के भयो आफूहरु जानकार नभए पनि आगामी दिनमा भने ध्यान दिने र आवश्यक कामका लागि पहल गर्ने जनाए ।
आयुर्वेद उपचार पद्धति आधारभूत सेवाभित्र पर्छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले १२ प्रकारका औषधि उत्पादन तथा बिक्री वितरण गर्छ भने ४४ प्रकारका औषधि नि:शुल्क वितरण गर्दै आएको छ ।