चिकित्सक दर्ता लाइसेन्स परीक्षामा ४६ प्रतिशत मात्रै पास

आश्विन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
चिकित्सक दर्ता लाइसेन्स परीक्षामा ४६ प्रतिशत मात्रै पास

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी मात्र पास भएका छन् ।

असोज १० देखि १२ गतेसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा १८ सय ११ सहभागी भएकोमा ८ सय ३३ जना मात्र उत्तीर्ण भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार ९ सय ७८ जना अर्थात् ५४ प्रतिशत भने फेल भएका छन् ।

एमबीबीएसतर्फ १४ सय ९१ जना सहभागी भएकोमा ६ सय ६२ अर्थात् ४४ दशमलव ४० प्रतिशत उर्त्तीण भएका छन् भने ८ सय २९ जना फेल भएको काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।त्यसैगरी बीडीएसतर्फ ३ सय २० जना सहभागी भएकोमा १ सय ७१ अर्थात् ५३ दशमलव ४४ प्रतिशत मात्र पास भएका छन् ।

काउन्सिलका अनुसार परीक्षामा नेपालका मेडिकल कलेजबाट ६० प्रतिशत र विदेशमा अध्ययन गरेर आएका ४० प्रतिशत सहभागी थिए । अनुर्त्तीण हुनेमध्ये विदेशमा अध्ययन गरेर आएका धेरै विद्यार्थी छन् ।

काउन्सिलले वर्षमा तीन पटक लाइसेन्स परीक्षा लिने गरेको छ । मेधावी विद्यार्थीले अध्ययन गर्ने चिकित्सक दर्ता लाइसेन्स परीक्षामा ५४ प्रतिशत फेल हुनु समग्र चिकित्सा शिक्षा माथिनै गम्भीर विषय बनेको काउन्सिलको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.