मुगुमा मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढ्यो, अस्पताल पुग्ने बिरामीमध्ये करिब ४० प्रतिशत बालबालिका

आश्विन १, २०८० |जनकबहादुर शाही
मुगुमा मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढ्यो, अस्पताल पुग्ने बिरामीमध्ये करिब ४० प्रतिशत बालबालिका

मुगु । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुमा उपचारका लागि अस्पताल पुगेका बिरामीमध्ये करिब ४० प्रतिशत बालबालिका रहेका छन् ।

मुगुका बालबालिकामा रुघाखोकी, ज्वरो, दम र शरीरमा पिलो-घाउजस्ता रोगको लक्षण देखिएका छन् । उपचारका लागि अस्पताल पुग्ने बिरामीमध्ये करिब ४० प्रतिशत बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कमल ढुंगानाले जानकारी दिए ।

जिल्ला अस्पतालमा दैनिक ८० देखि ९० बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ४० प्रतिशत बालबालिकाका र अरु १० वर्षमाथिका महिला-पुरुषलाई ज्वरो, रुघाखोकी, निमोनिया, दम रोगको संक्रमण देखिएको डा. ढुंगानाको भनाइ छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएका ३६ बिरामीमध्ये २४ भन्दा बढी बालबालिका छन् ।

मौसम परिवर्तनसँगै बालबालिकामा मौसमी रुघाखोकी र ज्वरो देखिएको चिकित्सक नकुल शाहीले जनाए । शाहीका अनुसार रुघाखोकी, ज्वरो, दम रोगको औषधि भए पनि घाउ-खटिराको औषधि नहुँदा उपचारमा समस्या देखिएको छ ।

मुगुको चारवटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका गाउँबस्तीमा अत्यधिक बालबालिका बिरामी परेका छन् । सोरु गाउँपालिकाको नार्थपु, भिई, लिब्रु, रावलबाडा, फोत, नेर, ताँजालगायत बस्तीका घरैपिच्छे ज्वरोका बिरामी छन् । ज्वरो प्रभावित बस्तीमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेर बिरामीलाई जाँच गरी उपचार गरिएको सोरु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले जानकारी दिए ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।