सामुदायिक विद्यालयका लागि काठमाडौं महानगर ल्यायो ‘शिक्षामा ‘सीप' कार्यक्रम

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
सामुदायिक विद्यालयका लागि काठमाडौं महानगर ल्यायो ‘शिक्षामा ‘सीप' कार्यक्रम

काठमाडौं । विद्यालय तहका विद्यार्थीलाई नै प्रयोगात्मक शिक्षाको अभ्यास नेपालका लागि नौलो हो । तर काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिन भन्दै 'शिक्षामा सीप' नामको कार्यक्रम सञ्चालनमा ल्याएको छ । महानगरको योजनाअनुसार वैशाख अन्तिम सातादेखि सामुदायिक विद्यालयले १० वटा मोडलका शीपमूलक तालिम विद्यार्थीलाई दिँदै आएका छन् ।

काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ९ का विद्यार्थी शुक्रबार सीप सिक्न व्यस्त थिए। उनीहरुको सिकाइ सधैंको किताबको पानाबाट भन्दा भिन्दै थियो । विद्यार्थीलाई कापी कलम साथमा लिएर ब्लाक बोर्ड अथवा ह्वाइट बोर्ड हेर्नुपर्ने बाध्यता थिएन । बरु आफ्नो रुचीको सिप सिकाइमा आवश्यक वस्तु नै उनीहरुको हातमा थियो । अर्थात् विद्यार्थीहरु प्रयोगात्मक अभ्यासमा थिए । एउटा समूह ब्युटीसियन कोर्स सिकिरहेको थियो भने त्यसै हलको अर्को कुनामा हाउस वायरिङ सिक्नेहरु पनि थिए। यस्तो सिपले भविष्यमा आफ्नो जीवनशैली सजिलो बनाउने विश्वास उनीहरुमा थियो ।

काठमाडौं महानगरले माध्यमिक तहका विद्यार्थीलाई शहरी कृषि, ब्युटिसियन तथा केश सज्जा, काष्ठकला, कलिनरी आर्टस, फेसन डिजाइनिङ, प्लम्बिङ, मूर्तिकला, हाउस वायरिङलगायतका १० वटा सीपमूलक शिक्षाको मोडल दिएको थियो । शिक्षासँगै सीपमूलक ज्ञान हासिल भए विद्यालय शिक्षापछि नै जीवन निवार्हमा सहयोग पुग्ने शिक्षकहरुको अपेक्षा छ।

'शिक्षाका लागि सीप' कार्यक्रमअन्तर्गत हरेक समूहमा २० देखि ३० जनासम्म विद्यार्थी सहभागी छन् । यसवर्ष कक्षा ९ का विद्यार्थीलाई मात्र सहभागी गराइएको छ। काठमाडौं महानगरभित्र ८९ वटा सामुदायिक विद्यालय भए पनि अहिले ५६ वटामा मात्रै यो कार्यक्रम लागू गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement