स्वास्थ्य क्षेत्रको बजेट २० प्रतिशतले घट्यो, चालु योजना प्रभावित हुने

जेष्ठ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य क्षेत्रको बजेट २० प्रतिशतले घट्यो, चालु योजना प्रभावित हुने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको बजेट २० प्रतिशतले घटेसँगै चालु योजनाहरु नै प्रभावित हुने भएका छन् ।

चालु आर्थिक वर्षका लागि स्वास्थ्यमा एक खर्ब ३ अर्ब १८ करोड बजेट रहेकामा आगामी वर्षका लागि ८३ अर्ब ९९ करोड मात्र छुट्याइएको छ । बजेट कम विनियोजन हुँदा ३२२ स्थानमा निर्माणाधीन ५ देखि १५ शय्याका अस्पतालको काम सक्न कठिन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा नछुट्याउँदासम्म नागरिकको स्वास्थ्यको दायित्व सरकारले लिन नसक्ने र नागरिकले आफ्नै खल्तीबाट उपचार गर्नुपर्ने अवस्था रहिरहने मन्त्रालयको भनाइ छ ।

त्यसो त स्वास्थ्य मन्त्रालयले कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने भने पनि चालु वर्षका लागि विनियोजित बजेटसमेत खर्च हुन सकेको छैन । आर्थिक वर्ष सकिन करिब डेढ महिना मात्र बाँकी रहँदा अहिलेसम्म करिब ६० प्रतिशत मात्र खर्च भएको छ । असारसम्म ८० प्रतिशत पुँजीगत रकम खर्च हुने आकलन मन्त्रालयको छ । मन्त्रालयले समयमै योजना बनाउन नसक्दा बजेट खर्चमा समस्या देखिएको हो ।

आगामी वर्षका लागि सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको छैन । अधिकांश पुरानै योजना समावेश गरेर बजेट विनियोजन भएकाले स्वास्थ्य क्षेत्र सुधार गर्न नसकिने विज्ञको बुझाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement