नर्सका पीडा : सरकारीमा दरबन्दी थोरै, निजीमा पारिश्रमिक कम

वैशाख २९, २०८० |अमृता अनमोल
नर्सका पीडा : सरकारीमा दरबन्दी थोरै, निजीमा पारिश्रमिक कम

बुटवल । यौटा रोचक भनाइ छ- एकजनाको हेरविचार गर्नु प्रेम हो भने सयौंको गर्नु नर्सिङ हो । दया र सेवाकी प्रतिमूर्ति ‘फ्लोरेन्स नाइन्टिंगेल’ को सेवाभावलाई मानक मान्दै उपचारमा खटिने नेपालका नर्सहरु राज्यले दिने सुविधामा भने कहिल्यै प्राथमिकतामा पर्दैनन् । सरकारी अस्पतालमा थोरै दरबन्दी छ भने निजीमा श्रमको मूल्य नै छैन ।

नर्सहरुको पहिलो सर्त र स्वभाव भनेको बिरामीको सेवा हो । उनीहरु हरबखत बिरामीको मलिन अनुहारमा खुसी ल्याउन प्रयासरत रहन्छन् । बिरामीको अनुहारमा देखिने खुसीले उनीहरु प्रफुल्ल हुन्छन् ।

‘सिरियस भएर आएको बिरामीहरु हुनुहुन्छ । उहाँहरुलाई प्राथमिकदेखि नुहाइदिने, भेन्टिलेटरमा रेखदेख गर्ने काम गरिरहेका हुन्छौं,’ लुम्बिनी प्रादेशिक अस्पतालकी नर्स बिनकुमारी पुन भन्छिन् ।

यसैगरी अर्की नर्स सिर्जना पौडेल आफ्नो कामबाट बिरामीहरुलाई सन्तुष्ट बनाउने प्रयार रहने बताउँछिन् ।

विश्वका महामारी र विपत्तिहरुमा सबैभन्दा बढी खट्ने स्वास्थ्यकर्मी नर्स नै हुन् । नेपालमा पनि कोरोनाकालमा जोखिमको पर्वाह नगरी अग्रपङ्क्तिमा रहेर नर्सहरुले सेवाभावको उच्चतम् नमुना देखाएका थिए । तर सरकारले अन्य स्वास्थ्यकर्मीलाई कोरोना भत्ता दिँदा नर्सहरूलाई भने दिएन ।

नर्सहरुलाई सेवा-सुविधा दिन चाहेको खण्डमा दिन सकिने नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईको धारणा छ । उनले यसका लागि नियमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयबाट राम्ररी नीति-नियम बनाइदिएको अवस्थामा थप सुधार्न सकिने जनाइन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार शिक्षण अस्पतालमा एक नर्सले तीनजना बिरामी हेर्नुपर्छ । अन्य अस्पतालमा एक नर्सको भागमा पाँच बिरामीसम्म हुनुपर्छ । नेपालमा सरकारले बनाएको अस्पताल सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७३ अनुसार नर्स र बिरामीको अनुपात मिल्दैन । त्यसैले दुईजना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ । बिरामी बढे पनि सरकारी निकायमा दरबन्दी सिर्जना नगर्दा नर्स कामको बोझले थिचिएका छन् ।

बिरामी र नर्सको अनुपात नमिलेको लुम्बिनी प्रादेशिक अस्पतालकी स्टाफ नर्स सीता पाण्डेको भनाइ छ । जसकारण बिरामीले गुणस्तरको रेखदेख पाउन नसकेको उनको अनुभव छ ।

नर्सिङ परिषद्को तथ्यांकअनुसार नेपालमा हाल नर्सहरूको संख्या एक लाख पाँच हजार छ । नर्सिङमा विद्यावारिधिसम्मका कक्षाहरु छन् । तर नर्सहरुको व्यावसायिकता र पारिश्रमिकको पाटो कमजोर छ । १० देखि १२ लाख खर्चेर वर्षौं लगाएर पढेका नर्सले निजी अस्पतालमा अहिले पनि मासिक १०/१२ हजारमा मात्रै काम गर्न बाध्य छन् । स्नातक र स्नातकोत्तर गरेका नर्सहरुले प्रवीणता मात्रै गरेकासँग एकै तहमा काम गर्नुपरेको छ ।

निजी अस्पतालहरुमा नर्सहरुले कम तलबमा काम गर्नुपरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ प्रमुख ज्योति पौडेलको भनाइ छ । उनले अरु पेसाजस्तै नर्सहरुलाई समेत सेवासुविधामा सुधार गर्नुपर्ने उनको सुझाव छ ।

अस्पतालमा बिरामीको उपचार सेवामा मात्रै खट्ने नर्सहरु पछिल्लो समय विद्यालय र सामुदायिक संस्थाहरुमा पनि कार्यरत छन् । अनुसन्धानकर्ता, नर्स प्राक्टिसनर, टेलिनर्सिङ, नर्स विश्लेषक, क्लिनिकल नर्स विशेषज्ञजस्ता विधामा नर्सहरु उत्पादन हुन थालेका छन् ।

धेरै वर्ष एकै ठाउँमा काम गरेको तर उसले पढ्न चाहे पहिला छात्रवृत्ति थियो तर अहिले काटिएको नेपाल नर्सिङ संघकी अध्यक्ष राईको भनाइ छ ।

विश्वका महामारी र विपत्तिहरुमा सबैभन्दा बढी खट्ने र स्वास्थ्य अभियान सफल पार्ने नर्सहरुको कामको मूल्यांकन गर्दै उनीहरुको मनोबल बढाउन सरकार अग्रसर हुनुपर्छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।