सुधारिँदै मधेसको स्वास्थ्य सेवा (भिडियो रिपोर्ट)

चैत्र १८, २०७९ |अनिल मिश्र
सुधारिँदै मधेसको स्वास्थ्य सेवा (भिडियो रिपोर्ट)

जनकपुरधाम । भौगोलिक रुपमा सुगम मधेस प्रदेशमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि क्रमिक सुधार हुँदै गएको छ । स्वास्थ्य उपचारका लागि मधेसका प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालहरुमा आवश्यक उपकरण राखिएको छ भने सेवाग्राही पनि लाभान्वित हुन थालेका छन् ।

मधेस प्रदेश सरकारले जनकपुरधाममा व्यवस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । आवश्यक उपकरणसहित छिटोछरितो सेवा दिन थालेको यस प्रयोगशालामा निजी प्रयोगशालाहरु भन्दा तीन गुणा सस्तो सरकारी दरमा २ सय ६० प्रकारका स्वास्थ्य परिक्षण हुन्छ । यहाँ दैनिक २ सय जनाभन्दा बढी बिरामी आउने गरेका छन् ।

जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई विशेष प्राथमिकतासहित २०७७ कार्तिक १ गतेदेखि सुरु भएको यस प्रयोगशालामा अहिलेसम्म १ लाख १३ हजारभन्दा बढीले सेवा लिइसकेका छन् । १२ वटा विभिन्न शाखामार्फत सेवा दिन थालेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले मधेस प्रदेशका सबै १ सय ३६ स्थानीय तहमा सेवा विस्तार गरेको छ । मधेसका आठै जिल्लाका प्रत्येक स्थानीय तहका सर्बसाधारणलाई छिटोछरितो र सुलभ तरिकाले सेवा दिनका लागि उपकरणसहित एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगी पठाइएको छ । तर, कर्मचारीहरु पठाएको २ महिना बितिसके पनि अघिकांश स्थानीय तहले प्रयोगशाला सञ्चालनमा ल्याउन सकेका छैनन् ।

अहिले जनकपुरधामको पर्यटन कार्यालयको भवनमा सञ्चालनमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई व्यवस्थित गर्न संघीय सरकारले पनि चासो देखाएको छ । यसअघि ७७ लाखको लागतमा खोप भण्डारण कक्ष निर्माण गरेका संघीय सरकारले ७ करोड २७ लाखको लागतमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र ४ करोड ४२ लाखको लागतमा प्रदेश मेडिकल स्टोरको निर्माण कार्य थालेको हो ।

बाक्लो जनघनत्व र घनाबस्ती रहेको मधेस प्रदेशका प्रादेशिक अस्पतालहरुलाई गम्भीर प्रकृतिका बिरामीहरुको उपचारका लागि भेन्टिलेटर लगायतका आवश्यक उपकरणको व्यवस्था गरेको छ । अब आवश्यक विशेषज्ञ चिकित्सकसहित दक्ष जनशक्ति व्यवस्थापन गर्न सके स्वास्थ्य सेवा थप प्रभावकारी हुने निश्चित छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।