बोतलको पानी भावी सन्ततिका लागि खतरा, के भन्छ अध्ययन रिपोर्ट ?

चैत्र ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
बोतलको पानी भावी सन्ततिका लागि खतरा, के भन्छ अध्ययन रिपोर्ट ?

काठमाडौं । प्रत्येक एक मिनेटमा विश्वभर दश लाख पानीको बोतल प्रयोग हुन्छ । प्लास्टिकको बोतलको माग दिनप्रति दिन बढ्दै गइरहेको छ ।

युनाइटेड नेसन्स युनिभर्सिटीको इन्स्टिच्युट फर वाटर इन्भाइरोमेन्ट एन्ड हेल्थको रिपोर्ट अनुसार बोतलको पानीको व्यापार अहिले २७० बिलियन (२ खर्ब ७० अर्ब) डलर पुगेको छ।

बोतलमा पानी बेच्ने कम्पनीले राम्रो मुनाफा कमाइ गरिरहेका छन् । तर विश्वभर प्रयोग हुने बोतलको पानीको आधा हिस्सा अमेरिका, चीन र इन्डोनेसियाबाट आपुर्ति हुन्छ ।

पृथ्वीको उत्तरी र दक्षिणी गोलार्धमा पर्ने देशले यस्तो पानीको प्रयोगलाई फरक–फरक कारण बताउँछन् । उत्तरी क्षेत्रका देशले धाराबाट आउने पानीभन्दा बोतलको पानी धेरै स्वास्थकर र राम्रो स्वाद हुने बताउँछन् । दक्षिणका देशहरु भने सफा पानी हुने भएकाले बोतलको पानी खरिद गर्दछन् ।

संयुक्त राष्ट्र संघको अध्ययन प्रतिवेदनकाअनुसार बोतलको पानीको अधिक प्रयोगको असर भावी सन्ततीका लागि महँगो सावित हुने देखिएको छ । विश्वका दुई अर्ब मानिस शुद्ध पिउने पानीको अभावमा छन् ।

विश्वभर बोतल बन्द पानी उत्पादनका लागि जति लगानी भइरहेको छ, त्यसको आधा हिस्सा मात्रै धारामार्फत सफा पानी पुर्‍याउन लगानी गर्ने हो भने वर्षौंवर्षसम्म मानिसहरुले सफा पानी पाउने थिए ।

एक लिटर बोतलको पानी धाराको पानीभन्दा १५० देखि १००० गुणा महंगो पर्दछ । तुलनात्मक रुपमा बोतलको पानी शुद्ध र स्वास्थकर हुने दाबी गरिन्छ । के यो सही हो त ?

राष्ट्र संघको प्रतिवेदनले विश्वका ४० भन्दा बढी देशका सयौँ ब्रान्डका पानीमा दूषित पदार्थ पाइएको उल्लेख गरेको छ । यस्ता पानीमा पाइएका दूषित पदार्थको मात्रा स्थानीय तथा अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि बढी पाइएको छ ।

‘डाउन टु अर्थ’ को रिपोर्टअनुसार भूमिगत पानी विश्वका दुई अर्ब मानिसको मुख्य स्रोत हो । साथै बोतलको पानी पनि यही स्रोतबाट निकालिन्छ । चिन्ताको विषय यो हो कि, बोतलको पानी उत्पादन गर्ने कम्पनीले भूमिगत पानीको प्रयोग बिनापर्वाह गरिरहेका छन् । आफ्नो फाइदाका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा अरु नियमलाई बेवास्ता गर्दै पानी निकालिरहेका छन् । उदाहरणका लागि अमेरिकामा ‘नेस्टले वाटर’ हरेक दिन फ्लोरिडा स्प्रीङबाट ३ मिलियन (३० लाख) लिटर पानी निकालिन्छ ।

बोतलको पानी वातावरणको लागि पनि हानिकारक छ । हरेक वर्ष ६० हजार करोड प्लास्टिकको बोतल उत्पादन हुनेगर्छ । यसबाट २५० लाख टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ । यसले हावा, पानी र जमिनलाई मात्रै असर नगरी बिस्तारै मानव स्वास्थ्यलाई समेत प्रभावित गर्दै लगेको छ ।

बोतलको पानीलाई हामी जति सहज सम्झिन्छौँ, यसको प्रयोग गर्नु अगाडि राष्ट्र संघको अध्ययन प्रतिवेदनलाई स्मरण गर्नु जरुरी हुन्छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.