विद्युत् नियमित नहुँदा मासिक ४० युनिटभन्दा बढी रगत अभाव

फाल्गुन २९, २०७९ |दीपेन्द्र शाक्य
विद्युत् नियमित नहुँदा मासिक ४० युनिटभन्दा बढी रगत अभाव

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा गत भदौ २१ देखि रक्तसञ्चार सेवा सञ्चालनमा ल्याइयो । तर, विद्युत् आपूर्ति नियमित नहुँदा संकलित रगत चौबीस घण्टाभन्दा बढी भण्डारण गरेर राख्ने अवस्था छैन । त्यसैले रगत आवश्यक पर्दा बिरामीका आफन्त दानकर्ता खोज्दै भौंतारिइरहेका हुन्छन् ।

रगतको कमी भएपछि भोजपुर षडानन्द नगरपालिका १२ फालिकोटकी ५५ वर्षिया छलीमाया मगरलाई शुक्रबार ओ-पोजेटिभ रगत चाहियो । रक्त सञ्चार सेवा केन्द्र जाँदा रगत पाइएन । सबैतिर खोजखबर गरेपछि बल्ल एकजना दाता भेटिए र मगरलाई एक प्वाइन्ट रगत चढाइयो ।

यो समस्या एक जना बिरामीको मात्रै होइन । रक्त सञ्चार केन्द्र हुँदाहुँदै पनि बिरामी र सुत्केरीलाई रगत चाहिने अवस्थामा तिनका परिवारले आकस्मिक रूपले रक्तदाता खोज्दै हिँड्नुपरेको छ । रेडक्रसले चलाएको यस केन्द्रमा विद्युत् आपूर्तिमा हुने अनियमिताका कारण रगत संकलन भएको चौबीस घण्टापछि प्रयोग गर्न सकिँदैन । जसले गर्दा सधैं रक्त अभाव भएको आकस्मिक रक्त सञ्चार केन्द्रकी कल्पना नेपालको भनाइ छ ।

जिल्ला अस्पतालमा मात्रै मासिक ४० युनिटभन्दा बढी रगत आवश्यक पर्छ । यसका लागि सेनाको गुल्म, प्रहरी र स्थानीयबाट रगत संकलन गर्नुपर्छ । पहिलो त रक्तदाताकै अभाव छ । यसमाथि संकलित रगत भण्डारणमा बारम्बार गइरहने बिजुली चुनौती बनेको छ । त्यसैले रक्त सञ्चार सेवा केन्द्रको सेवा पनि निष्प्रभावीजस्तो देखिएको छ । विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या समाधान गरी निश्चित समयसम्म रक्त भण्डारण गर्नसके खाँचोमा परेका बिरामी र सुत्केरीका आफन्तलाई दशतिर धाउनुपर्ने बाध्यता हट्ने थियो ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।