फागुन १९ देखि सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा

फाल्गुन १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
फागुन १९ देखि सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा

काठमाडौं । सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इन्टरनेसनल आयुर्वेदा कंग्रेस फागुन १९ गतेदेखि हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा आयुर्वेदा डाक्टर्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्यामबाबु यादवले फागुन १९ देखि २१ गतेसम्म काठमाडौंको होटेल सोल्टीमा सभा सञ्चालन हुने जानकारी दिए । उनले यस वर्षको मुख्य नारा सबैका लागि समग्र स्वास्थ्य उपचार होलेस्टिक हेल्थ फर अल भन्ने रहेको जनाए । यसअघि सन् २०१५ मा नेदरल्यान्ड, सन् २०१७ मा बेलायत, सन् २०१८ मा ब्राजिल, सन् २०१८ मा पुन: नेदरल्यान्डमै र सन् २०१८ मा सोल्भिया लेडिनामा महासभा सम्पन्न भएको यादवको भनाइ छ । उनले यसअघिका महासभाबाट आयुर्वेदालाई जनआन्दोलनका रुपमा विकास गरी जीवन विज्ञानका रुपमा ग्रहण गर्न उत्प्रेरित गर्ने संकल्प भएको जनाए ।

‘फागुन १९ देखि २१ गते हुने सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभाको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ,’ उनले भने, ‘नेपाल र भारतबाट कम्तिमा १००, १०० जना आयुर्वेद विज्ञ र अन्य देशहरुबाट १०० जना उपस्थित हुनेछन् ।’

उनले महासभाले जनसेवा गर्न सहयोग गर्ने अपेक्षा राखेको जानकारी दिए । उनले यसको विकास र विस्तारमा सहयोग गर्न आवश्यक रहेको पनि जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.