अस्कर नोमिनेसनमा किन पर्दैनन् नेपाली चलचित्र ?

कार्तिक १९, २०८१ |अवतार राई
अस्कर नोमिनेसनमा किन पर्दैनन् नेपाली चलचित्र ?

काठमाडौं । चलचित्रसम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय अस्कर अवार्डमा नेपालबाट वर्षेनी एक चलचित्र सिफारिस हुने गरेको छ । तर हालसम्म नेपालका कुनै पनि चलचित्र नोमिनेसनमा पर्न सकेको छैन । 

सन् १९२९ देखि शुरु ओस्कर अवार्डमा नेपालले सन् १९९९ देखि सहभागिता जनाउन थालेको हो । अस्कर अवार्डका लागि तय गरिएका प्राथमिकता नेपालका चलचित्रले पूरा गर्न नसकेका हुन् या निर्माण पक्षको क्षमता नपुगेको हो त ?

विश्वभरका ९० भन्दा बढी देशले सहभागिता जनाउने अस्कर अवार्डमा सिफारिस कयौं चलचित्रमध्ये विभिन्न विधाका लागि ५ भन्दा बढी नोमिनेसनमा पर्छन् । ती चलचित्रमध्ये भोटिङका आधारमा अस्कर अवार्ड प्रदान गर्ने गरिन्छ । यो अवार्ड अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित हो । सन् १९२९ बाट शुरु यो अवार्डमा नेपालले समेत आजभन्दा २५ वर्षअघि सन् १९९९ देखि सहभागिता जनाउन थालेको हो । अस्कर अवार्ड छनोट समितिले नेपालमा बनेको हिमालय क्याराभान चलचित्र जो फ्रान्सेली निर्देशक एरिक भ्यालीले बनाउनुभएको थियो, त्यो पहिलो पटक सिफारिसमा परेको थियो । त्यसयता भर्खरै सिफारिस भएको शाम्बालासँगै १४ चलचित्र सिफारिस भइसके । तर ती चलचित्र अवार्ड त के नोमिनेशनमा समेत पर्न सकेका छैनन् ।

मौलिक कथावस्तु, पात्र तथा प्रविधिको प्रयोगबाट बनेका चलचित्रलाई अस्कर अवार्डका लागि सहभागी हुन आह्वान गरिन्छ । तीनै चलचित्र मध्येबाट एउटालाई छनोट समितिले सिफारिस गर्छन् । यसअघि अस्करमा सहभागिताको अनुभव लिइसकेकाहरु निर्माण पक्षले तत्कालीन अवस्थामा जतिसुकै चलचित्र सिफारिस भए पनि नेपाली चलचित्र निर्माण पक्षको क्षमतामा अस्कर अवार्ड नरहेको तर्क गर्छन् । सिफारिस भएका चलचित्र नोमिनेशनमा पर्न नै सकस भएको अवस्थामा अवार्ड नै हात पार्ने सम्भावना त धेरै परको कुरा रहेको उनीहरुको बुझाइ छ ।

नेपालमा मौलिक र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने चलचित्र नबनेका होइनन् । तर ओस्कर अवार्ड प्राप्त गर्न मूलत फ्रान्स, जर्मनी तथा अमेरिकालगायतका देशका भोटरहरु नै प्रभावित पार्न सक्ने क्षमताका चलचित्र नेपालमा बनेका छैनन् । किनभने अस्कर अवार्डका मुख्य भोटरहरु नै ती देशका छन् । ती भोटरमाझ चलचित्र प्रवर्द्धन गर्ने क्षमता हाम्रो निर्माण पक्षसँग छैन ।

ठूलो रकम खर्चिएर चलचित्र बनाउनै हम्मे हम्मे भइरहेको अवस्थामा प्रवर्द्धनका लागि त्यसको दोब्बर/तेब्बरसम्म लगानी सम्भव नहुँदा पनि अवार्ड प्राप्त गर्न नसकिएको हो । सिफारिस भएका चलचित्रलाई राज्यपक्षले नीति नै बनाएर प्रवर्द्धनमा जुटे मात्र नेपालमा बनेका चलचित्रले अस्कर अवार्ड हात पार्न सक्ने देखिन्छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement